जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १२:४८

शिक्षकले गरे काठमाडौंका मेयर बालेनको निर्देशन अबज्ञा, काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी


काठमाडौं, असोज ४ । काठमाडौं महानगरपालिकामा कार्यरत शिक्षकहरुले मेयर बालेन्द्र साह (बालेन) को निर्देशन अबज्ञा गरेका छन । मेयर बालेनले विद्यालय बन्द गरेर आन्दोलनमा गए शिक्षकलाई कारबाही गर्ने चेतावनी दिनुभएको भए पनि शिक्षकहरूले अवज्ञा गर्दै आन्दोलनमा गएका हुन ।

सरकारले ल्याउन लागेको शिक्षा ऐनविरुद्ध देशभरिका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलनमा काठमाडौंका सामुदायिक विद्यालयका शिक्षक पनि मिसिएका छन ।

बुधवारबाट देशभरीका शिक्षक काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिएका छन् । बुधबार शिक्षकहरू आन्दोलनमा गएपछि काठमाडौंका मेयर साहले विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही गर्ने चेतावनी दिनुभएको थियो । काठमाडौं महानगरपालिकाले सूचना नै जारी गरी कारबाहीको चेतावनी दिएको थियो भने मेयर साहले आफ्नो फेसबुक पेजबाट पनि कारबाहीको चेतावनी दिनुभएको थियो ।

शिक्षा विधेयकमा आफूहरूको पनि असहमति रहेको भए पनि विद्यार्थी पढाई प्रभावित पार्ने गरी आन्दोलनमा जानु गलत हुने साहको भनाइ थियो । ‘तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुराउनु होला, यस्ता अवरोध पुर्याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ’, उहाँको चेतावनी थियो ।

महानगरको कारबाहीको चेतावनी आउने बित्तिकै शिक्षक महासंघ काठमाडौं समितिले आन्दोलनमा उत्रिएका शिक्षकमाथि कारबाही गरिए सामूहिक प्रतिवादमा उत्रिने चेतावनी दिएको थियो । बिहीबार काठमाडौंका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी विद्यालय पुगेका भए पनि विद्यालय बन्द भएपछि घर फर्किएका छन् । शिक्षक आन्दोलनको कारण आजदेश भरिका सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ ।