जनता टाइम्स

९ आश्विन २०८०, मंगलवार १२:५२

मेयर बालेनको कार्यकक्षअघि उभिएर आन्दोलनरत ईःलाई भेटन उपमेयर सुनिता डंगोल पुगेपछि


काठमाडौं, असोज ९ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रदर्शनीमार्गस्थित मेयर बालेन्द्र शाह (बालेन) को कार्यकक्ष अगाडि ८ दिनदेखि उभिएर जवाफदेहिता मागिरहेका सामाजिक अभियन्ता ईःलाई भेटनु भएको छ ।

उपमेयर डंगोलले ईःसहित आन्दोलनरत युवाहरूलाई भेटेर उहाँहरूले उठाएका मागको विषयमा आफू सकारात्मक रहेको बताउनु भएको हो । गत मंगलबारदेखि राष्ट्रिय सभागृहको गेटछेउमा उभिएका युवाहरूले मेयर शाहले चुनावअघि सडकमा व्यवसाय गरेर बसेका साना व्यवसायीको उचित व्यवस्थापन गर्ने बताएकोमा अहिले त्यो प्रतिबद्धताविपरीत कार्य गरेको भन्दै सडक र फुटपाथमा व्यवसाय गरेर खानेहरूलाई विकल्प दिएर व्यवस्थापन गर्न माग गरिरहेका छन ।

उभिएर आन्दोलन गरिरहेका ईःलाई आठौँ दिन मंगलबार भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले आफ्नो तर्फबाट त्यसका लागि पूर्ण साथ र पहल हुने जानकारी पनि दिनुभएको छ ।

त्यस क्रममा उपमेयर डंगोलले १६५ घण्टादेखि निरन्तर उभिएका ईः को स्वास्थ्यबारे जानकारी लिनुभएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावी वाचाविपरीत वैकल्पिक व्यवस्थाबिना नै फुटपाथ व्यवसायीहरूलाई हटाएको र उनीहरूमाथि नगर प्रहरी परिचालन गरेर हिंसा गरेको विरोधमा अभियन्ता ईः सहित युवाहरुले उभिएर भद्र अवज्ञा गरिरहेका छन् । उभिएका कारण ईः का खुट्टा सुन्निएका छन् ।

मेयर शाहले भने आन्दोलनरत अभियन्ता ईः लगायत युवाहरूसँग वार्ता गर्न नचाहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । मेयर शाहले दम्भ देखाए पनि उपमेयर डंगोल भने आफै आन्दोलनकारी भेटन पुग्नुभएको हो ।