पोखरा, असोज १५ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमाले बलियो भए मात्रै मात्रै जनताको अधिकार रक्षा हुने बताउनु भएको छ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश इञ्चार्जसमेत रहनुभएका सचिव विष्टले यस्तो बताउनु भएको हो ।
उहाँले अहिले देशको राष्ट्रियतामाथि हस्तक्षेपको प्रयास भइरहेको पनि बताउनु भयो । ‘हामीलाई हाम्रो देशको माया छ, हामी हाम्रो देशको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न चाहन्छौँ’, बिष्टले भन्नुभयो । अहिले धेरै नेपाली युवा बिदेसिएका बताउँदै विष्टले एमाले देशभित्रै अवसर खोज्न लागिरहेको बताउनु भयो ।
आज नेपाली युवाले युरोप र जापानको सपना देखेको बताउँदै विष्टले अबको १५/२० वर्षमा युरोप जापानका युवाको आकर्षणको केन्द्र नेपाल बनाउने गरी नेकपा एमाले योजनावद्ध रुपमा लागेको पनि प्रष्ट पार्नुभयो । यसका लागि पहिला नेकपा एमाले बलियो बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
एमालेका नेता कार्यकर्ताको एकता बलिया भयो भने मात्र एमाले बलियो हुने उहाँले बताउनुभयो । ‘आज पार्टीभित्रको आवश्यकता पूरा गर्ने गरी हामी अगाडि बढ्नु पर्नेछ,’ सचिव बिष्टले भन्नुभयो । नेकपा एमाले बलियो नभएसम्म देशको अवस्था अहिलेको जस्तै हुने उहाँले बताउनुभयो । त्यसैले एमालेलाई बलिया पार्टी बनाउने गरी सबै नेता कार्यकर्ता लाग्नु पर्नेमा विष्टले जोड दिनुभयो ।
उहाँले नेकपा एमाले जनताको मुक्तिको लागि नेतृत्व गरेको पार्टी भएको बताउनुभयो । एमाले सबै खालका अतिवादी र शोषणकाविरुद्ध आन्दोलनरत पार्टी भएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
एमालेलाई कमजोर पार्ने अनेकन प्रकारले देशभित्र र बाहिरका शक्ति लागेको उहाँले बताउनुभयो । तर एमालेलाई कुनै तागतले कमजोर पार्न नसकेको र नसक्ने ठोकुवा पनि सचिव बिष्टले गर्नुभयो । ‘जनताको अगाध मायाका साथ अगाडि बढेको एमालेलाई कुनै तागतले, कुनै शक्तिले रोक्न सक्ने छैन’, उहाँले भन्नुभयो ।
सम्बोधनको क्रममा सचिव बिष्टले गठबन्धन सरकारप्रति जनताको विश्वास मरेको बताउनुभयो । आज सरकार टेलिभिजनको पर्दा र रेडियोमा मात्र देखिने र सुनिने गरेको भन्दै विष्टले जनताको समस्यामा सरकार नदेखिएको बताउनुभयो । जनताले सरकारप्रति आशा राख्नु भैँसीका अगाडि बाँसुरी बजाउनु जस्तै भएको उहाँले टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्