जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १८:५६

प्रेम आलेको जिल्लामै बिद्रोह : नेकपा एस विदेशीको दलाल बन्यो भन्दै एमाले फर्किए उपसचिवसहित १४ नेता


काठमाडौं, असोज १६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलन सकाउने अभियानमा लागेको प्रमाणित भएको भन्दै सो पार्टीका नेताहरु धमाधम एमाले फर्कन थालेका छन ।

यही क्रममा नेकपा एकीकृत समाजबादीका डोटी जिल्लाका उपसचिव भक्तबहादुर साउँदसहित १४ जना जिल्ला नेताहरु एमाले प्रवेश गरेको घोषणा गर्नुभएको छ । डोटीको बडीकेदार गाउँपालिकाबाट १४ नेता आज नेकपा एमालेमा फर्किएका हुन । हाल बिदेशमा रहेका उपसचिव साउँदले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू एमालेमै फर्किएको घोषणा गर्नुभएको छ ।

‘नेकपा एमालेबाट विद्रोह गरी नेकपा एकीकृत समाजवादीको जन्म हुँदै गर्दा भनिएको थियो कि पार्टीमा अराजकता निर्मूल पारी अनुशासन कायम गर्ने, देशमा सुशासन कायम गर्ने, लोकतन्त्रको संरक्षण तथा भ्रष्टाचारको अन्त्य, उच्च आर्थिक बृद्धिदर, दिगो विकास गरि समृध्द नेपाल बनाई समाजवादमा पुग्ने,’ साउँदले लेख्नुभएको छ, ‘तर त्यो बाटो हिड्नुको सट्टा उल्टै सिंगै पार्टी अवसरवाद र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको देखियो ।’ साउँदले नेकपा एस दक्षिणपन्थीको टेको बन्दै चरम पुँजीवादको भाषमा फसेको, राष्ट्रियता कमजोर पार्दै विदेशीको दलाल भएको आरोपसमेत लगाउनु भएको छ ।

‘पार्टी फुटको पुष्ट्याई गर्न नसकेको, व्यक्तिगत अभिष्ट पूरा गर्ने हेतुले कार्यकर्तालाई भ्रममा पारेको र कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने तिनको मनोभाव जनताले प्रष्ट बुझिसकेका छन,’ साउँदले लेख्नुभएको छ । यिनै कारणले आफू लगायत बडिकेदारका नेकपा एसमा जोडिएका सवै नेता कार्यकर्ता सो पार्टीमा बसिरहन उचित नदेखिएकोले राजनीतिक जीवनको शुरुवातदेखि २८ वर्षको सबै खाले लगानी लगाएको आफ्नै पार्टी नेकपा एमालेमा समाहित भएको उहाँको भनाई छ ।

आफू अहिले देशबाहिर रहेपनि प्रवासमा संगठनमा आवद्ध भई राजनीतिक जीवन अगाडी बढाउने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ । साउँदले नेकपा एसमा लागेका सबैलाई नेकपा एमालेमा समाहित हुन अपिल समेत गर्नुभएको छ । साउँद गत स्थानीय तहको निर्वाचनमा माओबादी र एस गठबन्धनबाट बडीकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो ।

साउँदसंगै एमाले प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य शारदा कठायत, गाउँ कमिटी अध्यक्ष लालबाहादुर मन्नी, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरु रहेका छन ।