जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १०:१३

मंगलवारयता बझाङमा ३ सय बढी परकम्प, अझै आउन सकेन क्षतिको यथार्थ विवरण


काठमाडौं, असोज १९ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ रेक्टरको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता मात्रै बझाङमा तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बझाङमा अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको छ ।

स्थानीयवासीका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । मंगलबार र बुधवार कोही पनि घरभित्र बस्न सक्ने अवस्था थिएन । तर अब भने विस्तारै घरमा जाने र कामकाज गर्ने क्रम सुरु हुन थालेको छ ।

घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ । प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ । आज केन्द्र सरकारले उपलब्ध गराएको राहत ट्रक मार्फत् जिल्लातर्फ पठाइएको छ । त्यसअघि रेडक्रस लगायतका संघसंस्थाले टेन्ट र केही खाद्यान्न प्रभावितहरुलाई उपलब्ध गराएका थिए । राहत वितरण एकद्वार प्रणालीबाट भइरहेको छ ।

भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन भइसकेको छैन ।

क्षतिको यथार्थ विवरण छिटो उपलब्ध गराउन पालिकाहरुलाई जिल्ला विपद व्यवस्थापन समितिले निर्देशन दिएको छ । सबै पालिकाका सबै वडाबाट परिचालित टिमले क्षतिको विवरण संकलन गरिरहेका छन् ।