मकवानपुर, असोज २० । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभइ स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने निश्कर्ष राख्नुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरले आज हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने र सवै विदेश पलाएन हुने अवस्था देखिएको बताउनु भयो ।
ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताउनु भयो । स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने मन्त्री बस्नेतको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा देखिएका अभाव र बेथिति रोक्न निरन्तर लागिरहेको बताउँदै मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएपछि सरकारी अस्पतालका सेवामा आमूल परिवर्तन भइरहेको दावी गर्नुभयो । उहाँका अनुसार अहिले ९५ प्रतिशत डाक्टर गाउँगाउँमा सेवा दिन पुगेका छन । मन्त्री बस्नेतले एक सय दिनमा एक सय सात काम गरेर आफूले देखाएको दावी पनि गर्नुभयो ।
’स्वास्थ्यमन्त्री भएर आएपछि वीर अस्पतालको सुधारदेखि गाउँगाउँमा डाक्टर पुगेको, मेडिकल बोर्डमा उल्लेख्य सुधार भएको, अनुमति नलिइ सञ्चालनमा आएका फार्मेर्सीमा कारबाही गर्न सुरु भएको, सरकारी अस्पताललाई आफैँ अनिवार्य फार्मेसी सेवा सुरु गर्ने वातावरण बनाइएको लगायत कामहरु भएका छन’, मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले अबको ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक परिवर्तन देखिने जिकिर पनि गर्नुभयो । आधारभूत स्वास्थ्य सेवा दिने सन्दर्भमा नीतिगत मात्र नभई कार्यान्वयनका पक्षमा पनि आफू अहोरात्र लागिपरेको जानकारी पनि मन्त्री बस्नेतले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्