आजको दिनमा यी सबै कामहरु गर्नसक्ने उपयुक्त पात्र भनेको डा. बद्रि केसी नै हुनुहुन्छ । वहाँ यस संस्थाको स्थापनाको समय २००३ सालदेखि यसमा जोडिँदै तल्लो तहदेखि आईसिसिको ६ महिनाको कार्यकारी अध्यक्षसम्मको जिम्मेवारीको लामो अनुभवले पोख्त हुनुहुन्छ
भक्त गुरुङ
गैरआवासीय नेपाली संघ (एनआरएनए) को चालु ११औं महाधिवेशनबाट आगामी दुई वर्षको लागि डा. बद्रि केसीलाई अध्यक्षमा निर्वाचित गरी संघलाई एकताबद्ध बनाई अगाडि बढाऔं भन्ने कुरा महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र सम्बन्धित साथीहरुसंग विनम्र अनुरोध गर्न चाहन्छु ।
अध्यक्षका लागि वहाँसंगै अन्य तीनजना साथीहरु क्रमशः रविना थापा, महेश श्रेष्ठ र आरके शर्माले पनि मनोनयन गर्नुभएको छ । रविना थापा हालको तीन जना ६ महिने कार्यकारी अध्यक्षहरु मध्येको एक हुनुहुन्छ भने अन्य दुईजना उपाध्यक्षहरु हुनुहन्छ । तसर्थ, वहाँहरुले अध्यक्ष बन्नको लागि दावी गर्नु स्वभावीक पनि देखिन्छ । तर, एक जना मात्रै अध्यक्ष बनाउने संघको विधानको व्यवस्था र योजना भएकोले एक जनाबाहेक अन्य अध्यक्ष बन्न सक्ने कुरा भएन ।
गैरआवासीय नेपाली संघ सन २००३ अक्टोवर ११ मा लण्डनमा स्थापना भई दुई दशकको लक्का जवानीमा अघि बढ्दैछ । संघले विदेशमा बसेका नेपालीहरुलाई संगठित गरी ‘नेपालका लागि नेपाली’ को मूल मन्त्र बोकेर नेपाल र नेपालीको विहंगम हितको लागि परिचालित हुने प्रमुख उद्देश्य राखेको छ । आजको ग्लोवल भिलेजको विज्ञान तथा प्रविधिको डिजिटल युगमा गैर आवासीय नेपाली संघ जस्ता संघ संस्थाहरुको महत्व दिनानुदिन बढ्दै गएको छ ।
नेपालको अर्थतन्त्रको मुख्य भाग बिदेशबाट कमाएर पठाइएको रेमिट्यान्सबाट धानिएको कुरा हामी सबैलाई थाह छ । कोभिड–१९ विश्वमहामारीपछिको आर्थिक मन्दीमा जगल्टिएको विश्व अर्थतन्त्रमा नेपाल जस्तो परनिर्भरतामा बाँचेको देशलाई त्राण दिने आधार नै बिदेशका नेपालीले कमाएको रेमिट्यान्स हो । नेपालमा पाउनसक्ने भन्दा राम्रा अवसरहरुको खोजीमा नेपालबाट बाहिरिने नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ । हरेक दिन करिब ३ देखि ४ हजारको दरले नेपालीहरु बिदेसिएको तथ्यांक हामीसामू छ । यो क्रम अझ बढ्छ, रोकिदैन, किनकी नेपालीहरुको सस्तो श्रमलाई उपयोग गरी आफ्नो देशलाई सम्पन्न बनाउने होडमा धनी राष्ट्रहरु लागेको देखिन्छ ।
यसरी विदेश गएका नेपालीहरुलाई संगठित गर्ने, उनीहरुको हकहीत र अधिकारको लागि काम गर्ने, उनीहरुले बिदेशमा आर्जन गरेका सीप, ज्ञान, पुँजी र प्रविधिलाई नेपालको समृद्धि र विकासमा उपयोग गर्ने सबैभन्दा उपयुक्त माध्यम भनेको गैर आवासीय नेपाली संघ नै हो । यसलाई सार्क मुलुकबाहेकका देशहरुमा बस्ने सबै नेपालीहरुको साझा संगठनको रुपमा बिकसित गर्ने मान्यता लिइएको छ । यसलाई कुनै प्रकारको जातीय, धार्मिक, राजनीतिक, लैंगिक, क्षेत्रीय तथा पेशागत विभेदहरुबाट वर्जित गरी सबैको साझा फुलवारी जस्तो संस्था बनाउने अवधारणाबाट यसको जन्म र बिकास भएको हो ।
तथापी, यस २० वर्षे अवधिको समिक्षा गर्दा यसको उद्देश्य अनुरुपका उपलब्धिहरु भने अत्यन्त न्यून देखिन्छ । आफ्नो असिमित क्षमता र बृहत सम्भावनालाई यसले बुझन सकेको देखिदैन । यो संगठन मन मिल्ने सिमित व्यक्तिहरुको व्यावसायिक स्वार्थपूर्ति गर्ने हतियार जस्तो देखिन पुगेको छ । यस संगठनले अंगिकार गरेको कुनै जाती, भाषा, धर्म, सम्प्रदाय, पेशा, व्यवसाय र राजनीतिक विशेषभन्दा माथि उठेर सबैको साझा चिन्तनको चौतारी बन्ने पवित्र उद्देश्यलाई आज क्षतविक्षत बनाइएको छ ।
संगठन निर्माणको एनसीसीदेखि, रिजनल र आईसीसीसम्मका अनुचित गतिविधिहरुले संस्थाको साख र औचित्यमाथि नै प्रश्न खडा गरिदिएको छ । संगठनभित्र राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरुले आफ्नो सत्ता स्वार्थलाई संगठनभित्र प्रवेश गराई आफ्नो निहित स्वार्थ पूरा गर्ने गरी यस संस्थाको हुर्मत लिइएको छ । त्यही प्रवृत्तिले संस्थालाई टुक्राटुक्रा पार्ने मात्र होइन, पवित्र संगठनमा कहि नहुने खालको तीन–तीन वा चार–चार जना अध्यक्ष बनाउने, दर्जनौं उपाध्यक्ष, महासचिव, सचिव आदि बनाउने र गैर आवासीय नेपालीहरुको पुरै बेइजती गर्ने कामहरु पनि भएका छन् ।
यस संगठनलाई पवित्र संस्थाकै रुपमा अघि बढाउनुपर्छ भन्ने मानिसहरुको ठुलो जमात पछाडि परेको छ । आज संगठनभित्र अराजक व्यवहार देखाउने, हुलहुज्जत गर्ने, राजनीतिक पार्टी र नेताहरुलाई यसमा जोडी आफ्नो निहित स्वार्थ पुरा गर्ने र संगठनको गरिमालाई निश्तेज पार्नेहरु अगाडि देखिएका छन् ।
यस महाधिवेशनले त्यसखालका खराव प्रवृत्तिहरुलाई निस्तेज पारी संगठनलाई जोगाउनु पर्नेछ । यसको लागि योग्य, कर्मठ, बुझक्कड र सक्षम व्यक्तिहरुको नेतृत्व छान्नु जरुरी छ । एकजनाले मात्र यो ठुलो संगठनलाई नेतृत्व गर्न सक्दैन । तसर्थ, राम्रा व्यक्तिहरुको संयुक्त साझा टीम निर्माण गरी संस्थालाई पुनः आफ्नो घोषित लक्ष्य र उद्देश्य परिपुर्ति गर्ने बाटोमा वा लयमा फर्काउनु पर्दछ । जसको लागि अति सुझबुझपूर्ण नेतृत्व चाहिन्छ ।
आजको दिनमा यी सबै कामहरु गर्नसक्ने उपयुक्त पात्र भनेको डा. बद्रि केसी नै हुनुहुन्छ । वहाँ यस संस्थाको स्थापनाको समय २००३ सालदेखि यसमा जोडिँदै तल्लो तहदेखि आईसिसिको ६ महिनाको कार्यकारी अध्यक्षसम्मको जिम्मेवारीको लामो अनुभवले पोख्त हुनुहुन्छ । अबको दुई वर्ष यस संगठनभित्र उम्रन पुगेका माथि चर्चा गरिएका खराब पक्षहरुलाई सफा गरी संगठनलाई संसारभरका नेपालीहरुले आशा र भरोसा गर्न लायकको संगठन बनाउन जरुरी छ । त्यो काम वहाँले नै गर्न सक्नुहुन्छ । वहाँ कुनै एक राजनीतिक दलको मोहरा भएर चल्ने पात्र पनि हुनुहुन्न र सबैको साझा व्यक्तित्व हुनुहुन्छ, जसरी वहाँका अन्य प्रतिद्धन्द्धिहरु कुनै आमुक राजनीतिक दलको मोहोडा भएर प्रस्तुत हुनुभएको देखिन्छ ।
वहाँसंग सम्बन्धित रहेका वहाँलाई समर्थन गरेका टीमका साथीहरुलाई हेर्दा पनि संगठनलाई जोगाएर यसको घोषित उद्देश्य र लक्ष प्राप्तिमा संगठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर चिन्तन गर्ने र त्यसअनुसारको व्यवहार गर्ने व्यक्तित्वहरुको ठुलो समुह नै छ । तसर्थ, गैर आवासीय नेपाली संघको बीस वर्षे इतिहासमा यो संस्थालाई ठुलो दुर्घटनाबाट बचाएर आजको दिनसम्म ल्याईपुर्याउने व्यक्तिहरुलाई नै यो संस्थालाई अगुवाई गर्ने जिम्मा दिने तपाई हामी यस संस्थाको शुभचिन्तकहरुको कर्तव्य भएकोले यस महाधिवेसनमा डा. बद्रि केसी र वहाँलाई समर्थन गर्ने वहाँका साथीहरुलाई छनौट गरी स्वस्थ, हराभरा, सुसंठित र प्रभावकारी गैरआवासीय नेपाली संघ बनाउने काममा हामी सबै एक भएर लागौ भन्ने विनम्र अनुरोध गर्दछु ।
(गुरुङ बेलायतबाट गैरआवासीय नेपाली संघ महाधिवेसन–२०२३ प्रतिनिधि तथा गैरआवासीय नेपाली संघ पूर्व आईसीसी सदस्य र युके एनसीसीका पूर्व महासचिव हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्