जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १६:२६

पतिका हत्यारा योगराजको आममाफी बदरको फैसला सुनेपछि भक्कानिइन भारती


काठमाडौं, कात्तिक १६ । सर्वोच्च अदालतले आफ्नो पतिको हत्यारा योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती मानन्धर भावविव्हल बन्नुभएको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले आज रिगलको आममाफी बदर गर्दै तत्काल पक्राउ गरेर बाँकी कैद भुक्तान गर्न परमादेश जारी गरेपछि भारती भावबिब्हल बन्नुभएको हो ।

पुर्ण इजलाशमा कामु प्रधानन्यायाधीश खतिवडाले निर्णय सुनाउनु भएलगत्तै भारती भक्कानिदै तल झरेर डाँको छोडेर रुनुभयो । भारतीलाई सुरुदेखि नै सहयोग गर्दै आउनु भएकी जस्मिन ओझासहितका साथीहरुले समातेर सम्हाल्नु भएको थियो ।

रिगलको आममाफीसँगै न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहनु भएकी भारतीले मुद्दा जितेपछि न्याय मरेको छैन भन्दै सर्वोच्च अदालतको पेटीसमेत ढोग्नुभएको छ । रिगलकै योजनामा २०७२ सालमा नेपालगञ्जमा चेतन मानन्धरलाई रिगलकै खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

संबिधान दिवसको अवसर पारेर राष्ट्रपतिले रिगललाई आममाफीदिएपछि भारती न्यायको लडाईमा रहनुभएको थियो । अदालतको फैसलापछि भारतीले न्याय पाएको बताउनु भएको छ ।