जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १९:३२

भारती किन पुगिन ओली निवास ? यस्तो छ भित्री कुरा


भक्तपुर, कात्तिक १७ । नेपालगञ्जमा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुग्नुभएको छ ।

आफ्नो न्यायको लडाइँमा साथ दिएको भन्दै भारती एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिन आज बालकोट पुग्नुभएको हो । न्यायको पक्षमा उभिएर आफूलाई सहयोग गरेको भन्दै अध्यक्ष ओलीलाई धन्यवाद दिन बालकोट आएको भारतीले बताउनु भयो ।

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्यामा संलग्न प्रमाणित भएपछि जन्मकैदको सजाय पाएका गुन्डानाइके योगराज ढकाल रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने गरी गरेको निर्णय बिहीबार बदर गरेको थियो । निर्णय बदरलगत्तै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकेको छ ।

अध्यक्ष ओलीसँगको भेटका क्रममा भारतीले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिनुभयो । एमाले अध्यक्ष ओलीले पनि सत्यको जीत भएको बताउनुभएको थियो । अध्यक्ष ओलीले भारतीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव दिनुभएको थियो । उहाँले भारतीलाई राम्रो उपचार गराउन पनि सुझाव दिनुभएको छ ।