जनता टाइम्स

४ मंसिर २०८०, सोमबार २१:३२

भूकम्प प्रभावित क्षेत्रमा एमालेका ११ सय स्वयंसेवक : यी हुन पीडितको घाउमा मल्हम लगाइरहेको २८ समुह


जाजरकोट, मंसिर ४ । नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा ११ सय स्वयंसेवक खटाएको छ ।

कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रका १ हजार र प्रदेशका १ सय गरी ११ सय स्वयंसेवक खटिएका हुन । जसमध्ये जाजरकोटमा ७ सय र रुकुम पश्चिममा ४ सय स्वयंसेवक परिचालन हुने पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।

एमालेका जनसंगठनहरु जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ, भूपू सैनिक प्रहरी संगठन तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्तिसहितको स्वयंसेवकहरु प्रभावित क्षेत्रमा पुगरे काममा जुटेको उहाँले बताउनु भयो । केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरुलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समुहमा विभाजन गरिएको छ ।

जसअनुसार भेरी नगरपालिका ३ माथिल्लो थाप्ले क्षेत्रमा पार्टीका पोलिटब्युरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा जिफन्टले मंसिर १ गतेदेखि नै काम गरिरहेको छ । त्यसैगरी पिपलडाँडा क्षेत्रमा अनेरास्वबियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकाय नेतृत्वमा अनेरास्ववियुको समुह परिचालन भएकोे छ ।

पार्टी केन्द्रीय विपद व्यवस्थापन बिभागका प्रमुख किरण पौडेल, पार्टी केन्द्रीय सदस्य निरज आचार्य लगायतको समुहले भेरी नगरपालिका १ रिम्नाबाट काम सुरु गरेको छ । मोहन बडुवा नेतृत्वको प्रदेश कमिटीको समुहले पनि रिम्नामै काम गरिहेको छ । यस्तै भेरी नगरपालिका १ रावतगाउँ, पिपे, मैदे, चौर, रिम्ना, नलगाड नगरपालिका १ को चिउरी, पालि, कल्पत वडा नं ३ को कट्के, करुवा, चाउलेचौर, टट्टा वडा नं ५ को ऐरारी, चारगाउँ वडा नं ६ को थाप्ला, चारगाउँ वडा नं ७ को चामखेत लगायतका क्षेत्रमा विभिन्न समुह खटिएका छन ।

त्यसैगरी इपिसेन्टरको रुपमा रहेको बारेकोट गाउँपालिकाको सिर्पाचौर, लिम्सा, बयाला, काउली, रामिडाँडा, जिरीलगायका ठाउँमा छुट्टााछुट्टै समुह बनाएर पहिलो चरणमा जोखिममा रहेका संरचनाको भग्नावशेष हटाउने काम भइरहेको एमाले केन्द्रीय सदस्य तथा विपद व्यवस्थापन बिभाग प्रमुख किरण पौडेलले बताउनु भयो । उहाँका अनुसार कुशे गाउँपलिका र जुनिचाँदे गाउँपालिकामा भोलि सम्ममा स्वयंसेवक पुग्नेछन ।

एमालेले स्वयंसेवकले ५ हजार कार्यदिनमा १ करोडभन्दा बढी मुल्यको श्रमदान गर्नेछन । हजारौं टहराहरु बनाएर नागरिकहरुलाई न्यानो बसाइँको व्यवस्था गरेर आफुहरु फर्किने पौडेलको भनाई छ । भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी, कुशे र रुकुम पश्चिमका आठबिसकोट र सानीभेरी गाउँपालिका बढी प्रभावित स्थानीय तह छन ।