पर्सा, मंसिर ५ । उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गर्नुभएको छ ।
बीरगञ्जको पोखरियामा आज आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा र माला लगाएर रौनियार एमाले प्रवेश गर्नुभएको हो । अध्यक्ष ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टी स्वागत गर्नुभयो । रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गर्नुभएको छ ।
रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित हुनुभएको थियो । पप्पु कन्ट्रक्सनका पूर्वसञ्चालक रौनियार तराईमा प्रभावशाली नेताका रुपमा स्थापित हुनुहुन्छ । एमाले र केपी ओली मात्र मधेश र मधेसी जनताको पक्षमा रहेको तथ्यले प्रमाणित गरेपछि आफू पनि एमालेमै आएको रौनियारको भनाई छ ।
रौनियारको नेतृत्वमा जसपाका अन्य केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् । जसपा अध्यक्ष यादव एकलौटी निर्णय गर्न लागेको र आफूलाई दुःख दिन थालेपछि सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको रौनियारले बताउनु भयो । उहाँले एमाले अध्यक्ष ओलीबाट मात्रै देश–मधेशको विकास र समृद्धि सम्भव रहेको निश्कर्ष पनि सुनाउनु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, सचिव तथा रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनालीसहित केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्