भरत शर्मा/जाजरकोट । जाजरकोट भूकम्पको प्रभावित क्षेत्रमा पुगेका एमालेका स्वयंसेवकहरुले उच्च जोखिममा रहेका ८८ घरको भग्नावशेष हटाएका छन ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा खटिएका एमाले स्वयंसेवकहरुले ८८ घरको भग्नावशेष हटाएर २१ वटा अस्थायी टहरा निर्माण गरेको पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।
पार्टीको नेतृत्वमा प्रदेश कमिटीहरु, श्रमिक संगठन (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, नेपाल खेलकुद महासंघ, भूतपूर्व सैनिक संगठन लगायतका जनसंगठनहरु स्वयंसेवकको रुपमा जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १ गतेदेखि परिचालित छन । जाजरकोटको भेरी र नलगाड नगरपालिकाका विभिन्न स्थानमा भूकम्पले उच्च जोखिममा रहेका ८८ वटा घरहरु सफाइ गरिएको र २१ वटा अस्थायी टहरा निर्माण गरिएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो ।
जाजरकोटको भेरी १ को रिम्ना, पिपे राउतगाउँ क्षेत्रमा पार्टी कर्णाली प्रदेशको नेतृत्व मोहन बडुवालले गर्नुभएको छ भने खेलकुद महासंघको समुहको नेतृत्व केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष किरण गौतम र स्थानीय कमिटी सदस्य एनबी बस्नेतले गर्नुभएको छ । त्यसैगरी भेरी नगरपालिका ३ को माथिल्लो थाप्लेमा श्रमिक संगठन जिफन्टले नेतृत्व गरेका छन भने पिपलडाडा क्षेत्रमा उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुको समूह परिचालन भएको छ ।
भेरी नगरपालिका ४ को गैरीखाली क्षेत्रमा समेत आजदेखि कोशी प्रदेशको समुहले काम सुरु गरेको छ । उता नलगाड नगरपालिका १ को चिउरीमा कबिन्द्र केसी नेतृत्वको एमाले सुर्खेतको समुहले काम गरिरहेको छ भने पालिमा अरुण कुवर नेतृत्वमा राष्ट्रिय युवा संघ सुदुरपश्चिमको समुहले काम सुरु गरेको केन्द्रीय सदस्य आचार्यले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्