ललितपुर, मंसिर ६ । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ ।
ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो । महानगरले उक्त दमकल ५ पाँच करोड ६५ लाखमा किनेको जनाएको छ ।
बुधबार एक कार्यक्रम गर्दै महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिनुभयो ।
’पहिले भएका दमकललाई सानो बाटोमा लैजान गाह्रो हुन्थ्यो, ती दमकल पानीले मात्र चल्थे,’ उहाँले भन्नुभयो, ’पेट्रोल पम्पमा आगलागी भयो भने बाहिरबाट फोम भएको दमकल मगाउनुपर्ने अवस्था थियो।’
अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्यांकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकीको क्षमता छ । यी दमकलले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने हाछेथुले बताउनु भयो ।
त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँदा समेत यो दमकल प्रयोग गर्न सकिने महानगरले जनाएको छ । यी दमकलको सहायताले २० तला माथिसम्मका आगलागी निभाउन क्षमता राख्ने हाछेथुले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्