जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १९:०३

युट्युबसहितका १७ वटा मिडियालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण, केहीमाथि कार्वाहीका लागि पठायो साइबर ब्यूरोलाई पत्र


काठमाडौं, मंसिर ६ । सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । काउन्सिलले आज २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

काउन्सिलले आज विज्ञप्ति जारी गरेर विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिता बमोजिमको कारबाही गरेको जनाएको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चारमाध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको जनाइएको छ । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेका सञ्चारमाध्यम (युट्युब च्यानल) लाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिएको छ भने थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार समेत गरेको छ ।

‘आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्तिलगायतका भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाललाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ’, काउन्सिलको विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु।्याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह पनि गरेको छ ।