जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १९:३२

अत्यधिक चिसोका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, आज गयो थप एकको ज्यान


जाजरकोट, मंसिर ६ । जाजरकोटमा चिसोले थप एक जनाको मृत्यू भएको छ । अत्यधिक चिसोका कारण जाजरकोटको नलगाड नगरपालिका–४, पिपलचौरमा त्रिपालमुनि बस्दै आएकी धनकुमारी खत्रीको मृत्यू भएको हो ।

वडाध्यक्ष बद्री पन्तका अनुसार नलगाड–४ निवासी २८ बर्षीया खत्री मुटु तथा बाथरोगपीडित हुनुहुन्थ्यो । चिसोका कारण उहाँको आज बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका–८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आउनु भएको थियो ।

खत्री दम्पतीको नलगाड–४ स्थित पिपलचौरमा रहेको घर भत्किएपछि दारकाठ तह लगाउन गत कात्तिक २५ गते नै पिपलचौर आउनु भएको थियो । भत्केको घरनजिकै कैनाखोला किनारमा धनकुमारीका दम्पती ८ र ४ वर्षीय छोराहरुसहित त्रिपालमा बस्दै आउनु भएको थियो । ’हामीले एउटा त्रिपाल र कम्बल, केही अन्नपानी राहत दिएका थियौं,’ वडाध्यक्ष पन्तले भन्नुभयो ।

धनकुमारीको मृत्युसँगै भूकम्पपछि चिसोका कारण नलगाडमा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने जिल्लाभर १३ जनाको मृत्यु भएको छ । भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको नलगाडमा पनि दैनिक १ सय ५० जनासम्म बिरामी पर्ने गरेको तथ्यांक नलगाड आधारभूत अस्पतालमा रहेको छ ।