जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार १०:५४

तीनकुने र बल्खु क्षेत्रमा उच्च सुरक्षा सतर्कत, सुनसान बन्न थाल्यो सडक


काठमाडौं, मंसिर ६ । गणतन्त्रबिरोधी अभियान र सरकारको चरम असफलताबिरुद्ध एमाले निकट जनसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुले आयोजना गरेको बिरोध प्रदर्शनलाई लिएर उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एमाले जनसंगठनको प्रदर्शनकै दिन मेडिकल ब्यवसायी दुर्गा प्रसाईले पूर्वराजावादीको आडमा काठमाडौंमै प्रदर्शन गर्न लागेपछि संभावित झडपको अवस्थालाई लिएर सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रदर्शन स्थल समेत फरक पारिएको छ । युवा संघ र अनेरास्वबियुको प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाई समर्थकको लागि बल्खु क्षेत्र तोकिएको छ ।

बिहान ११ बजेबाट प्रशर्दन गर्ने भनिए पनि १० बजेबाटै तीनकुने क्षेत्र सवारी आवागमन लगभग निकै कम देखिएको छ । यस्तै प्रसाई समर्थक अराजक बन्ने अनुमानसहित बल्खु क्षेत्र पनि सुनसान देखिएको छ ।