जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार ११:०८

धनकुटाको निगालेमा एकै परिवारका ३ जना मृत फेला, श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको आशंका


धनकुटा, मंसिर ७ । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन । धनकुटा नगरपालिका–१ निगालेमा तीन जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी घर भई हाल धनकुटा नगरपालिका –१ निगालेका वर्ष ३५ का टिकाराम गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा तामाङ र छोरा वर्ष १० वर्ष आयुष गुरुङको हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर काम गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

घटनास्थल धनकुटा–हिले सडक खण्ड अन्तर्गत निगालेमा रहेको छ । घटनाको अनुसन्धान भइरहेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुण्डिएको अवस्था र उनका श्रीमती र छोरा हत्या गरिएको अवस्थामा फेला परेको कोइरालाले बताउनु भएको छ ।

मृतक गुरुङकी कान्छी छोरी वर्ष ६ की आसिकी गुरुङ भने छिमेकीको घरमा सुताउन लगिएकाले जिवित छन् । मृतकका आफन्त संखुवासभाबाट आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।