जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार १५:४७

दुर्गा प्रसाईंको प्रदर्शनमा माओवादी कार्यकर्ता पनि देखिए, आन्दोलन हिंसात्मक बनाउने प्रयाश


काठमाडौं, मंसिर ७ । पूर्वराजा ल्याउने अभियानमा लागेका दुर्गा प्रसाईं समूहले प्रदर्शनलाई हिँसात्मक बनाएको छ । आज मंसिर ७ मा प्रदर्शन गर्ने घोषणा गरेको सो समूहलाई सरकारले तोकेको स्थानभन्दा बाहिर गएर प्रहरीमाथि ढुंगामुढा गर्दै हिंसात्मक बनाएको हो ।

सरकारले काठमाडौंको बल्खु क्षेत्रमा ठाउँ तोकिदिएको थियो । विभिन्न ठाउँबाट बल्खु हुँदै काठमाडौंको तीनकुने आउँदै गरेको राष्ट्रिय युवा संघका कार्यकर्ताहरुको बाइक र्यालीलाई दुर्गा समूहले आक्रमण गरेपछि भिडन्त भएको हो ।

दुर्गा समूहले सुरक्षाकर्मीहरुलाई पनि ढुंगा प्रहार गरेर अशान्ति सिर्जना गर्ने प्रयास गरेको छ । बल्खु क्षेत्रमा भीडन्त गर्ने दुर्गा प्रसाईको समूहमा माओवादीका विभिन्न जिल्लाका कार्यकर्ता पनि देखिएको बताइएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारी अराजक र हिंस्रक बनेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका थिए ।