भरत शर्मा/जाजरकोट। जाजरकोटका भूकम्पपीडितले सरकारी संयन्त्रले कामभन्दा दुःख दिने नियत मात्रै राखेको भन्दै आक्रोश पोखेका छन । भूकम्पपीडितले खुलेयाम रुपमा सरकारी संयन्त्रभन्दा अनेरास्वबियुका स्वयंसेवकले आफूहरुको पीडामा मल्हम दलेको बताए ।
एमालेको जनसंगठन अनेरास्ववियु यतिबेला भूकम्पबाट प्रभावित क्षेत्रमा छ । केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुका नेताहरु जाजरकोटको भेरी नगरपालिका ३ पिपलडाँडास्थित भूकम्पले क्षतविक्षत घरहरुको भग्नावशेष हटाउने र पुरिएका समानहरु निकाल्ने काममा व्यस्त छन । स्थानीयहरुको माग र जोखिमको आधारमा उनीहरु बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म निरन्तर धुलोमा काम गरिरहेका देखिन्छन ।
‘हामी कात्तिक १ गतेदेखि नै भूकम्प प्रभावित क्षेत्रमा छौं, स्थानीयहरुको माग र जोखिमको आधारमा भत्किएका घरहरुको भग्नावशेष हटाउने, पुरिएको समान निकाल्ने र पीडितहरुको बसोबासका लागि अस्थायी टहरा निर्माणका काम गरिरहेका छौं,’ घरको छानो छाएको ढुङ्गा निकाल्दै गर्दा भुटनुभएका महासचिव रोकायले भन्नुभयो । उपाध्यक्ष नारायण घर्तीले पार्टी केन्द्रको निर्णय बमोजिम संगठनको तर्फबाट २५ जनाको स्वयंसेवक समुह बनाएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको बताउनु भयो ।
आफूहरुले विभिन्न संस्थाहरु संगको समन्वयमा आवश्यक राहत वितरण गर्नेदेखि पुनःस्थापना र नवनिर्माणको काम गरिरहेको उपाध्यक्ष घर्तीको भनाइ छ । अनेरास्ववियुले काम गरिरहेको क्षेत्र पिपलडाँडाका स्थानीयहरुले सरकारी संयन्त्रले गर्न नसकेको काम अनेरास्ववियुले गरेको बताए ।
स्थानीय प्रवेश विक्रम शाहले भन्नुभयो, ’हाम्रा भत्किएका घर सफा गर्न आर्मी, पुलिस पनि आए तर काम नै सुरु नगरेर फर्किए । जब अनेरास्ववियुको टोली आयो तब मात्र भत्किएको समान निकाल्न सफल भयौं ।’ जोखिमपूर्ण काम गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै स्थानीय नारद कार्कीले विद्यार्थी नेताहरूलाई धन्यवाद दिनुभयो ।
’राजनीतिक आस्था एक ठाउँमा होला, उहाँहरु हाम्रो दुःखमा हातेमालो गर्न आउनु भएको छ । यो दुःखको बेला निकै सहयोग गर्नु भएको छ, हामी यो गुन कहिल्यै बिर्सिने छैनौंं,’ उहाँले भन्नुभयो । अनेरास्ववियुले सो क्षेत्रमा हालसम्म अति जोखिममा रहेका १६ वटा घरहरूको भग्नावशेष हटाएको छ भने २ वटा अस्थायी टहरा निर्माण गरि हस्तान्तरण गरेको छ ।
सो क्षेत्रका घरहरु अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेकोले एउटा घरको भग्नावशेष हटाउन नै निकै समय लाग्ने गरेको महासचिव रोकायले बताउनु भयो । आफुहरु सहित भूपू सैनिक संगठनका नेताहरुको सहयोगमा काम भइरहेको रोकायको भनाई छ ।
















प्रतिक्रिया दिनुहोस्