काठमाडौं, मंसिर ९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको ठोकुवा गर्नुभएको छ ।
नेपाल सम्वतसहित बिभिन्न चाड पर्वको अवसरमा एमाले काठमाडौं महानगर कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताउनु भयो । ‘गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ। राष्ट्रपतिले माफी दिन्छन। समाजमा सुशासन छैन, उनीहरुकै राज छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने पनि बताउनु भयो । जसले गल्ती गरेको छ, त्यो मान्छे खराब हुन सक्छ। व्यक्ति खराब हुन सक्छ। तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन,ु ओलीले भन्नुभयो ।
उहाँले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने पनि प्रष्ट पार्नुभयो । ‘हामी ढुंगे युगतिर फर्किन सक्दैनौं। जन्मिँदै कोही राजा बन्ने कुरा हामीलाई किमार्थ स्वीकार हुँदैन। त्यो राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । जनतालाई जात धर्मको नाममा विभाजित गर्ने प्रयास गरेर अहिले देशका विरुद्ध षडयन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपंक्तिमा उभिएर लड्न तयार रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्