जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार १६:१३

शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई छाड्न अस्वीकार : खाणलाई थुन्ने कि नथुन्ने भन्ने विषयमा राय बाझिए


काठमाडौं, १५ मंसिर । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

यता पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुन्ने कि नथुन्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ।  शुक्रबार उच्‍च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच छाड्ने/नछाड्ने भन्ने विषयमा राय बाझिएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो।

अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्नेछ। नक्कली भुटानी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।

थुनामा रहेका बालकृष्ण खाण, टोपबहादुर रायमाझिसहित २० जनाले पुर्पक्षको लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध उच्चमा निवेदन दिएका थिए।