जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार १८:४३

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, यस्तो छ निर्वाचन गर्ने कार्यसूची


काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी माघ १३ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने निर्वाचनको लागि आज तालिका सार्वजनिक गरेको हो । यसअघि सरकारले निर्वाचनको मिति तोकेको थियो ।

कार्यतालिका अनुसार मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । यस्तै मङ्सिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय तोकिने भएको छ ।

पुस १ गते दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरिने छ । पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइनेछ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति गरी सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको हो ।