जनता टाइम्स

१८ मंसिर २०८०, सोमबार ०६:३७

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो


धनकुटा, १८ मंसिर । धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ ।

डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो ।

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिनुभयो ।

‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भन्नुभयो , ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चावी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’

नेपाली कांग्रेसको तर्फबाट गुरागाई वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । घरमा गुरागाईका श्रीमान–श्रीमती सुत्नुभएको थियो । उहाँहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो ।

तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सत्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताउनुभयो ।

उहाँका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ ।आगोले तल्लो तलाक़ रहेका अधिकांस सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरुले आगो निभाएका हुन् ।

आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाई बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गाउँमा कसैसँग पनि मेरो दुस्मनी छैन । कसले यस्तो गर्यो थाहा भएन । तर, मान्छे मार्ने नियतले ढोका थुनेर घरमा आगो लगाइदिएको प्रस्ट हुन्छ ।’

आगो निभाउँन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उहाँ बताउँनुहुन्छ । घटनापछि आइतबार बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।