जनता टाइम्स

१८ मंसिर २०८०, सोमबार १३:३८

सामाजिक सञ्जालमार्फत काठमाडौंको मुख्य शहरमै यौन ब्यवसाय सञ्चालन भइरहेको खुलासा


काठमाडौं, मंसिर १८ । सामाजिक सञ्जालमार्फत काठमाडौं उपत्यकाको विभिन्न स्थानमा यौन व्यवसाय सञ्चालन भइरहेको तथ्य उजागर भएको छ । नेपाल प्रहरीले सुष्म अनुसन्धानपछि सो गिरोहका पाँच जना पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार दरबारमार्ग, नयाँ बसपार्क, तिङलेङ्टार, बानेश्वरलगायत विभिन्न स्थानबाट यौन ब्यवसाय चलाइरहेका पाँच जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुंगाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते सार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी रेग्मीले बताउनु भयो । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी यौन ब्यवसाय सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको रेग्मीको भनाई छ ।