रुकुम पश्चिम, मंसिर १९ । चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रुकुम पश्चिमले आज यस्तो निर्णय सुनाएको हो ।
साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।
आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो । २४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको सजाय पनि सुनाइएको छ । उक्त घटनामा संलग्न रहेका २३ जना पूर्पक्षका लागि कारागारमा रहेका थिए। बाहिर रहेका ११ जना मध्ये एक जनालाई पनि जन्मकैद, दुई वर्ष कैद ५० हजार जरिवाना तोकिएको छ ।
अन्य २ जनालाई जातीय छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ । घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।
नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये १ जना (किशोरीकी आमा) धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए । ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्