जनता टाइम्स

२१ मंसिर २०८०, बिहीबार ०८:५७

एमालेको समृद्धिका लागि संकल्प यात्रा : बच्चा बोक्ने आमादेखि दाँत फुक्लिएका हजुरबा हजुरआमासम्मको साथ र समर्थन


काठमाडौं, मंसिर २१ । ‘वृद्ध भत्ता र एकल महिलालाई भत्ता दिने पार्टीको नेता आउँदै हुनुहुन्छ भनेर हेर्न आएको’, नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरूलाई भेट्न आउनु भएकी अछामकी एक महिलाले भन्नुभयो । सामाजिक सुरक्षाभत्ता दिने पार्टीको नेताहरु भेटन लामो दुरी हडेर आएको उहाँले सुनाउनु भयो ।

‘हामीलाई भत्ता दिने पार्टीका नेतालाई अहिलेसम्म देखेको छैन, कस्ता रान भनेर हेर्न आएको’, उहाँले भन्नुभयो । लाइनमा उहाँसँग अर्की एक गर्भवती महिला पनि लामो समयदेखि उभिइरहनुभएको थियो । गर्भवती महिलालाई उभिन गाह्रो भएकै थियो होला । तर उहाँ आफ्नो पेटमा भएको बच्चाको भविष्य प्रति चिन्तित हुनुहुन्थ्यो, त्यसैले भविष्य बोकेको पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका नेताहरूलाई स्वगत गर्न आतुर हुनुहुन्थ्यो । ती महिला उहाँहरू आउने प्रतिक्षमा लाइनमै उभिएर बस्नु भएको थियो ।

यस्तै अछाममा नै लाइनमा बसेका एक हुल किशोरीहरू नारा लगाइरहेका थिए, ‘केपी बा वी लभ यु, केपी बा हाइ हाइ ।’ राष्ट्रिय झण्डा बोकेका ती किशोरीहरूले आफ्नो स्वर्णिम भविष्य सजाएका थिए । त्यो भविष्य नेकपा एमाले भित्र देखेका थिए । त्यसैले त घाटी सुक्ने गरी कराइरहेका थिए– ‘केपी बा, वी लभ यू, केपी बा हाई हाई’ भनेर ।

नेकपा एमालेले मंंसिर १४ गतेबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको घोषणा गर्दा कसरी जनसहभागिता जुट्छ भन्ने प्रश्न उठेको थियो । ठुला दल निकम्मा भइसके, ठुला दलले आह्वान गरेको कार्यक्रममा कोही निस्कँदैनन् भन्ने प्रचार गरिएको थियो । एमालेको कार्यक्रममा मान्छे नै आउँदैनन्, कार्यक्रम बिचमा टुङ्ग्याउनु पर्ने बाध्यता आउँछ भन्दै धरैले कुरा काटेका थिए । तर परिदृष्य ठीकउल्टो देखियो, नागरिक एमालेको अभियानमा झुम्मिए ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा एमालेको सिंगो सचिवालय लगायतको टिम जब मङ्सिर १४ गते बिहान महाकाली किनारका झुलाघाटमा उत्रियो एमालेले समेत नसोचेको जनसागर ओर्लियो । के बालक, के वृद्ध, के युवा, के किशोर–किशोरी, के गर्भवती, के अशक्त, के साना बच्चाका आमा सबै एमालेको कार्यक्रममा सहभागी हुन पुगे । एमालेको अभियानमा साथ र समर्थन जनाउन पुगे ।

एमालेको महाअभियानले आठौं दिनमा आइपुग्दा तीन वटा प्रदेशका मध्यपहाडका जिल्ला छिचोलेको छ । सातौ. दिनको यात्रामा टोलीले सुदूरपश्चिम र कर्णाली पार गर्दै गण्डकी टेकेको छ । यत्रा जहाँ पुग्यो त्यहाँ नागरिकको अदम्य समर्थन र उपस्थितिले एमालेका नेताहरूलाई थप उत्साहित बनाएको छ ।

सडकमा जताततै स्वागत गर्न नागरिकहरूका भिड लागेको छ । जहाँ जहाँ सभा हुन्छ त्यहाँ त्यहाँ व्यापक जनसहभागिता जुटेको छ । नागरिकले आफ्नो गुनासो राखेका छन्, पार्टीको तर्फबाट पार्टी अध्यक्ष आफैँले पार्टीको धारणा राख्नु भएको छ ।

मङ्सिर १४ बाट सुरु भएको एमालेको अभियान अब कुनै एक राजनीतिक दलको अभियान मात्र नभएर सिंगो देश निर्माणको अभियानमा रूपान्तरण भएको छ । एमालेको अभियानलाई स्वगत गर्न एमालेका मात्रै होइन नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका नेताहरू समेत सहभागी भएपछि एमालेको अभियान अब साझा राष्ट्रिय अभियान बनेको छ ।

 

समृद्ध नेपालको संकल्प अभियानमा निस्किएको एमालेको टोलीलाई मंगलबार मात्रै रुकुम र जाजरकोटको सिमानामा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्वागत गर्दै अभियान चलाएकोमा धन्यवाद दिनुभयो । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहीले पनि टोलीलाई स्वागत गर्नुभयो ।

त्यति मात्रै होइन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न जिल्लामा बुझाइएका ध्यानाकर्षणपत्रहरु प्रमुख राजनीतिक दलका साझा अवधारणापत्रको रूपमा बुझाउन सुरु गरिएको छ । जिल्लाको विकास र समृद्धिको लागि गर्नुपर्ने कामलाई केन्द्रित गरी बुझाइएका त्यस्ता पत्रहरू राजनीतिक दलहरूले संयुक्त रूपमा बुझाउनुले पनि यो अभियान राष्ट्रिय साझा अभियान बनेको छ ।