काभ्रे, मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ । एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको ओलीले बताउनुभयो ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तर्गत आइतबार काभ्रेको कुन्ताबेँसीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेसँग एक्लाएक्ला एक्लै लड्ने आँट कोहीसँग नभएको बताउनुभयो । ‘नेकपा एमाले कसैले रोक्दा रोकिने पार्टी होइन, कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी पनि होइन’, उहाँले भन्नुभयो ।
ओलीले गठबन्धन सरकार बनेपछि विकासको काम रोकिएको बताउनुभयो । रोकिएको काम नेकपा एमालेले फेरी सुरु गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
एमालेलाई राम्रो काम गरेबापत सरकारबाट हटाइएको बताउँदै ओलीले एमाले सरकारबाट हटेपछि देशमा निराशा र अराजकता बढेको बताउनुभयो । यसको अन्त्य नगर्ने हो भने देश बरबाद हुने उहाँले प्रष्ट पार्नुभयो ।
देशमा, शान्ति, सुव्यवस्था र समृद्धिको आकाङ्क्षा नेकपा एमाले राखेको बताउनुभयो । यसको लागि मिसन २०८४ एमालेले अघि सारेको ओलीले बताउनुभयो । नेकपा एमाले हुँदा हुँदै देशलाई बरबाद हुन दिँदैनौँ भन्ने सङ्कल्पका साथ मिसन २०८४ मा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
देशलाई जोगाउन एउटा मजबुत राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । एमाले राष्ट्रिय शक्ति भए पनि त्यसलाई थप मजबुत बनाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।
बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्