जनता टाइम्स

२६ मंसिर २०८०, मंगलवार १५:१३

एमालेको संकल्प यात्रा : अध्यक्ष ओलीलाई कोशी प्रदेशमा यसरी गरियो स्वागत (फोटो फिचर)


हर्कपुर, २६ मंसिर । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानमा रहेको नेकपा एमालेको टोली कोशी प्रदेश प्रवेश गरेको छ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको १३औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेको टोली मध्यपहाडी लोकमार्गको बहादुरे खोला हुँदै आज दिउँसो कोशी प्रदेश प्रवेश गरेको हो।

रामेछापको मन्थलीबाट बिहान हिँडेको अध्यक्ष ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै केहीबेरअघि कोशी प्रवेश गरेको हो।

टोलीलाई एमाले सचिव तथा कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठ, कोशीका पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई र हिक्मत कार्की, पोलिटब्युरो सदस्यहरु विशाल भट्टराई, शिवमाया तुम्बाहाङ्फे, केन्द्रीय सदस्य गोविन्द थापा तथा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले भव्य स्वागत गर्नुभएको छ। सो क्रममा विभिन्न जातजातीको झाँकीसमेत प्रस्तुत गरिएको थियो । नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता, समर्थक र स्थानीय भेला भएका छन्।

ओखलढुंगाको हर्कपुरमा सभा गरेर आजै संकल्प यात्रा खोटाङको हलेँसी हुँदै दिक्तेलमा बास बस्ने तालिका छ।

वाग्मती प्रदेशको यात्रा गर्दै कोशी प्रवेश गरेको एमालेले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ। बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।