काठमाडौं, १ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १८ दिनपछि काठमाडौं फर्किनु भएको छ । आजै बिहान पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर हेलिकोप्टरमार्फत उहाँ काठमाडौं ओर्लनु भएको हो ।
काठमाडौं फर्कनुअघि आजै उहाँ पाँचथरको सदरमुकाम फिदिमबाट भारतीय सीमासंग जोडिएको चिवाभञ्ज्याङ पुगेर नेपालको राष्ट्रिय झण्डा हफराउनु भएको थियो । सो अवसरमा उहाँले यात्राका क्रममा प्राप्त सुझाव, ध्यानाकर्षण पत्र, ज्ञापन पत्रसमेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने बताउनुभएको थियो ।
चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नेकपा एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको बताउनुभयो ।
मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन भएको हो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो ।













प्रतिक्रिया दिनुहोस्