काठमाडौं, पुस ४ । महिला र मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञहरुले पार्टीका निर्देशन मात्र पालना गर्ने नभई समग्र महिलाका मुद्धा र समस्या उठान गर्न सुझाव दिएका छन ।
एमालेनिकट अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको नीति कार्यक्रम र भावी रणनीतिवारे विज्ञहरूसँग छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन ।
छलफलमा सहभागीहरुले अनेमसंघले पार्टीका एजेण्डा बोक्ने मात्र हो वा समग्र महिलाका मुद्दा बोक्ने हो भन्ने बिषयमा सवैभन्दा पहिला स्पष्ट हुनुपर्ने बताएका छन । उनीहरुले महिलावादका विषयमा अनेमसंघको बुझाइ के हो ? भन्दै प्रश्न समेत गरे ।
अनेमसंघ सरकार, सदन, सडक र जनतासंग प्रत्यक्ष संलग्नता भएकाले संघले उठाएका मुद्दाहरुले विशेष अर्थ राख्ने उनीहरुको भनाई थियो । अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी भएका विज्ञहरुले सरकारले उलपब्ध गराएको तथ्याकं विश्वास गर्न लायक नभएको भन्दै मन्त्रालयका सचिवहरू नै विज्ञ नभएकाले यस्तो समस्या आएको बताए ।
उनीहरूले मन्त्रालयमै पुनःसंरचना आवश्यक भएको भन्दै अनेमसंघलाई त्यसको अगुवाइ गर्न सुझाव दिए । कार्यक्रममा कृषि र खाद्य सुरक्षा विज्ञ यमुना घलेले जुम्लाको स्थानीय स्याउ विस्थापन गर्न विदेशमा तयार पारिएको स्याउको विरुवा वितरण गरिएको भन्दै स्थानीय विउ बिजनको विनाशले महिला कमजोर हुने धारणा राख्नुभएको थियो ।
घलेले स्थानीय स्याउवाट महिलाहरूले सुकुटी र वाइन बनाएर आम्दानी गरिरहेको भन्दै अहिले विदेशी विउको बिरुवावाट तयार भएको स्याउवाट सुकुटी नबन्ने भएकाले महिलाको आम्दानी बन्द हुने बताउनु भयो ।
सामाजिक अभियन्ता पुर्णशोभा चित्रकारले अनेमसंघले अब आफ्ना मुद्दा परिस्कृत गर्नुपर्ने सुझाव दिजनुभयो । मानवअधिकारकर्मी सुवोधराज प्याकुरेलले महिलाले गरेका उदाहरणीय कामको प्रचार प्रसारसमेत नभएको भन्दै अरु महिलालाई प्रोत्साहन दिन पनि त्यस्ता कामको प्रचार हुनुपर्ने बताउनु भयो ।
प्रवासन विज्ञ सरु जोशीले वैदेशिक राजगारीमा जाने महिलाका विषय राष्ट्रिय मुद्दा बनाउन आग्रह गनुभयो । वैदेशिक राजगारीमा गएका पुरुषको निधन हुँदा परिवारका सदस्यले क्षतिपूर्तिवापत २०–२२ लाख रूपैयाँ पाउने तर महिलाको मृत्यु हुँदा कुनै ब्यवस्था नभएको उहाँको भनाइ थियो ।
शिक्षण अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रक्षा श्रेष्ठ र स्वास्थ्यकर्मी तारा पोख्रेलले पनि महिला स्वास्थ्यप्रति सरकार उदासिन भएको भन्दै अनेमसंघलाई सरकार प्रति दबाब बढाउने कामको नेतृत्व गर्न सुझाव दिनुभयो ।
महिला अधिकारकर्मी शान्ता लक्ष्मी श्रेष्ठ, मञ्जु गुरुङ, लता प्याकुरेललगायतले पनि अनेमसंघलाई पार्टीका मात्र मुद्दा बोकेर समग्र महिलाको समस्या अनेमसंघले सम्बोधन गर्न नसक्ने निश्कर्ष सुनाउनु भएको थियो ।
कार्यक्रममा अनेमसंघका उपाध्यक्ष शर्मिला कार्की र डा विमला राईले अनेमसंघको महिला अधिकारका सवालमा अनेमसंघको प्राथमिकताका विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्