जनता टाइम्स

५ पुष २०८०, बिहीबार १०:२४

संकल्प यात्रा पूर्णरूपमा सफल भएको एमालेको निष्कर्ष, विशेष पत्रकार सम्मेलन पुस ८ गते हुने


काठमाडौं, पुस ५ । नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधबार बसेको सचिवालयको अनौपचारिक बैठकले यात्राको समीक्षा गर्दै यात्रा पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको हो । बैठकले यात्रालाई नागरिकले अभूतपूर्व रूपमा साथ दिएर अपनत्व लिएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता, सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेको छ ।

मध्यपहाडी यात्राको समीक्षा सहित धारणा सार्वजनिक गर्न आज गर्ने भनिएको पत्रकार सम्मेलनको अघिको कार्यतालिका भने संशोधन भएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन पुस ८ गते दिउँसो एक बजेलाई सारिएको उहाँले बताउनुभयो । ८ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राको धारणा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

लामो अभियानको प्रतिवेदन लेखनको कोही काम बाँकी रहेकोले प्रतिवेदन तयारीको काम भइरहेको गौतमले बताउनुभयो । ‘प्रतिवेदन तयारीमा समय लागेकोले पत्रकार सम्मेलन ८ गतेलाई सारिएको हो’, गौतमले भन्नुभयो ।