उर्लाबारी (मोरङ), पुस ५ । राजनीतिक दलको कार्यक्रममा शिक्षकले सहभागिता जनाएको भन्दै अरु पार्टी समर्थक शिक्षकको उछितो काढ्दै अएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता नै शिक्षण पेशामा रहेको पाइएको छ ।
घण्टीको नाममा चर्चित रास्वपा उर्लाबारीले केही दिनयता स्थानीय राधिका मावि उर्लाबारी ६ मा कार्यरत शिक्षक प्रेमप्रसाद भट्टराईको व्यक्तिगत तहमै ओर्लिएर विरोध जनाउदै आएको छ ।
शिक्षक भट्टराई एमालेको सभामा भाग लिन तेह्रथुमको बसन्तपुर पुगेको भन्दै रास्वपाका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमा चर्को विरोध मात्रै गरेका छैनन्, उर्लाबारी नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शनसमेत गरेका छन । कतिसम्म भने ‘कि बन शिक्षक कि नेता, नबन दुईवटा’ भन्दै घण्टीका कार्यकर्ताले नगरपालिका गेट अगाडि प्लेकार्ड बोकेर धर्ना समेत कसे ।
तर, एउटा दल विशेषको ओत लागेर विरोध प्रदर्शनको अगुवाई गर्ने व्यक्ति नै शिक्षण पेशामा रहेको खुल्न आएको छ । रास्वपा उर्लाबारी नगर समितिका अध्यक्ष रहेका उमेशजंग थापा झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएको पाइएको हो । थापा सो क्याम्पसको आइटी विषयका प्राध्यापक रहेको क्याम्पसले जनाएको छ ।
शिक्षकले राजनीति गर्नु हुँदैन भन्दै अरुलाई औला तेस्र्याउने सामुदायिक क्याम्पसका प्राध्यापक उमेशजंग थापाहरुले चाहिँ राजनीति गर्न विशेषधिकार पाएका हुन ? सर्वत्र प्रश्न खडा भएको छ ।
यसैगरी सो पार्टीका मोरङ जिल्ला उपाध्यक्ष रहेका भरत कँडेल पनि एक निजी विद्यालयमा कार्यरत छन् । कडेल उर्लाबारी–३ स्थित शुभकामना बोर्डिङका शिक्षक हुनुहुन्छ ।
सामान्यतः निजी शिक्षण संस्थाका शिक्षकको हकमा राजनीतिक संलग्नता ऐन नियमले वर्जित नगरेपनि नैतिक रुपमा अक्षम्य नै मान्नुपर्ने हुन्छ । जसले त्यहीँ पेशाको हवाला दिएर अरुमाथि प्रश्न तेर्साउछ, उस्तै पेशामा रहेको आफुचाहिँ ऐन नियमको छिद्र देखाएर उम्कन पाउँछ भन्ने सवालै रहँदैन ।













प्रतिक्रिया दिनुहोस्