काठमाडौं, पुस ६ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सत्ता र शक्तिमा पुगेपछि प्रधानमन्त्री प्रचण्ड नराम्रोसँग बिग्रिएको बताउनु भएको छ ।
सत्तामा नपुग्दासम्म त्याग गरेको मानिसहरु सत्तामा पुगेपछि बिग्रने गरेको इतिहास सुनाउँदै ज्ञवालीले प्रधानमन्त्री प्रचण्डमा सोही कुरा लागू भएको बताउनु भयो । मोतीदेवी स्मृति केन्द्रको १३ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार स्वयम्भूमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले विश्वमा यस्ता घटना प्रशस्तै देखिएका बताउनुभयो ।
‘सत्तामा नपुग्दासम्म जीवन समर्पित गर्ने त्यागी, समर्पित मान्छेहरू पनि सत्ता र शक्तिमा पुगेपछि निजी स्वार्थमा केन्द्रित हुने प्रवृत्ति संसारभरीको इतिहासमा हामी देख्छौँ’, ज्ञवालीले भन्नुभयो । यस्ता खालका विकृति र समस्या कुनै एउटा पार्टी वा नेपालमा मात्र होइन, विश्व भरि नै देखिएको उहाँले बताउनुभयो ।
सत्ता र शक्तिलाई आफ्नो हित र स्वार्थमा प्रयोग गर्ने कि देश र जनताको हितमा प्रयोग गर्ने भन्ने प्रश्न विश्वभरि नै गम्भीर रूपमा देखिएको ज्ञवालीले बताउनुभयो । ‘यो शक्तिलाई आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दै जाँदा पार्टीहरू खत्तम भएका, नेहरु खत्तम भएका उदाहरणहरू हामी विश्वभरि देख्न सक्छौँ, हाम्रो देशमा पनि त्यही समस्या हो’, उहाँले भन्नुभयो ।
२००७ सालको परिवर्तन अघि नेपाली कांग्रेसमा जुन खालको त्याग, तपस्या र बलिदान थियो सत्तामा गएपछि कांग्रेसले त्यो सबै गुमाएको उहाँले सुनाउनुभयो । यो कुरा कम्युनिष्टहरुमा पनि लागू हुने उहाँको भनाई छ । हिजो ज्यानको समेत परवाह नगरी व्यवस्था परिवर्तनको लागि लडेको बताउँदै ज्ञवालीले अहिले त्यो परिस्थिति नभएको बताउनुभयो ।
अहिले इमानदार भए पुग्नेमा त्यसमा समेत खडेरी परेको उहाँको भनाइ छ । देश र जताको हितको पक्षमा इमानदार भएर लागिदिए अहिले पुग्ने ज्ञवालीले बताउनुभयो । ‘अहिले इमानदारिताको आवश्यकता छ, निःस्वार्थ भावनाको आवश्यकता छ, निःस्वार्थ भएर, इमानदार भएर काम गर्ने हो भने हाम्रो देशलाई अघि बढाउन सकिन्छ’, उहाँले भन्नुभयो । शक्तिमा पुगेपछि शक्तिको दुरुपयोग गर्ने र शक्ति र सत्ताको लागि झगडा र लडाइँले देश बरबाद भएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्