विराटनगर, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने आफ्नो बटमलाइन सुनाउनु भएको छ ।
केही समयदेखि मन्त्रीहरुको कामलाई लिएर असन्तुष्ट देखिनुभएका प्रधानमन्त्री दाहालले आफ्नो एक बर्षे कार्यकाल पूरा हुन चार दिन बाँकी रहँदा यस्तो बटमलाइन सुनाउनु भएको हो ।
मोरङको मिक्लाजुङ ५ मा नेकपा माओवादी केन्द्रले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने जानकारी पनि दिनुभयो ।
‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु,’ प्रधानमन्त्रीको भनाई थियो । प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने उहाँको अडान छ ।
कार्यक्रमलाई उहाँले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उहााले जनाउनु भयो ।
उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि उहाँले बताउनु भयो । प्रधनामन्त्री दाहालका सचिवालय स्रोतका अनुसार बर्तमान मन्त्रिपरिषदमा करिव ११ जना मन्त्री हटाउनु पर्ने निश्कर्षमा दाहाल रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्