काठमाडौं, पुस ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका नेता– कार्यकर्ता सामाजिक रूपान्तरणका अभियानकर्ताको रूपमा स्थापित हुनुपर्ने बटमलाइन सुनाउनु भएको छ ।
आज आयोजित एमाले कोशी प्रदेश सम्पर्क कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले नेता–कार्यकर्ता अरू दलकाभन्दा अब्बल साबित हुनुपर्ने बताउनु भयो । ‘वास्तविक कम्युनिष्टका रूपमा, समृद्धिको अभियानकर्ताको रूपमा, समाजको रूपान्तरणकर्ताको रूपमा तपाईं–हामीले आफूलाई योग्य साबित गर्नुपर्दछ’, महासचिव पोखरेलको भनाई थियो ।
उहाँले मिसन ग्रासरुटको प्रतिवेदको आधारमा नेकपा एमालेका सबै कमिटी आफ्नो कार्ययोजना बनाएर अघि बढ्नु पर्नेमा पनि जोड दिनुभयो । मिसन ग्रासरुटको प्रतिवेदन कार्यान्वयन गर्नका लागि आफ्नो कामलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने पोखरेलले बताउनुभयो । त्यसो गर्न सकियो भने पार्टी संगठनलाई व्यवस्थित र सुदृढ बनाउन सकिने महासचिव पोखरेलको भनाई छ ।
पार्टीका जनसंगठनलाई कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने कुराले पनि पार्टी निर्माणमा अर्थ राख्ने उहाँले बताउनुभयो । पार्टीको रक्षाका लागि जनतासँगको सम्बन्ध थप सुधार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । नेपालको राजनीतिक स्थायित्व र बिकाशका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै महासचिव पोखरेलले एमाले मात्रै त्यो शक्ति बन्ने बताउनु भयो ।
नेकपा एमालेलाई अझै पनि बलियो राष्ट्रिय शक्ति बनाउन नसकिएको उहाँको भनाइ छ । अब बलियो राजनीति दलले मात्र देशमा राजनीतिक निकास दिन सक्ने पोखरेलेले बताउनुभयो । ‘विकास र समृद्धिको नेतृत्वको लागि गठबन्धन होइन, नीतिगत नेतृत्व आवश्यक पर्दछ, बलियो राजनीतिक दल आवश्यक पर्दछ, त्यस अर्थमा हाम्रो पार्टीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने शंकल्पका साथ अघि बढिरहेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले एमालेलाई अगुवा नेताको रूपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनु भयो । ‘मुलुकको विकास र समृद्धिको आकांक्षा बोक्ने पार्टीको रूपमा एमालेलाई जनताका बिचमा स्थापित गर्नुपर्छ, यो काममा तपाईं–हामी सवैको बिशेष ध्यान र पहलकदमी हुन आवश्यक छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
अहिले देशमा जातीयता र धार्मिक अधिकारका नाममा सांस्कृतिमाथि नै आक्रमण भइरहेको पनि महासचिव पोखरेलले बताउनु भयो । यस्तै समुन्नत नेपाली संस्कृतिलाई भत्काउने प्रयत्न भइरहेको प्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । देशमा आर्थिक संकट बढ्दै जानु देशको लागि अर्को चुनौती भएको पोखरेलको भनाई छ । सरकारकै कारण आर्थिक संकट बढेको भन्दै उहाँले कडा आलोचना गर्नुभयो ।
‘सरकारकै कारण आर्थिक संकट बढेको हो, सरकारले सञ्चालन गरेको अवैध आर्थिक क्रियाकलापको कारण देश आर्थिक संकटमा परेको छ,’ महासचिव पोखरेलले भन्नुभयो । आर्थिक संकट अन्त्यको लागि एमालेकै नेतृत्व जरुरी रहेको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाउनु भयो ।सरकारको यही गतिविधिको कारण प्रतिगमनकारी र व्यवस्था विरोधी शक्ति सल्बलाएको उहाँले बताउनुभयो ।
नेपाली समाजमा फैलाउन खोजिएको नकारात्मक धारणालाई चिर्न नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सफल भएको भन्दै उहाँले यो यात्राले देशको विकास र समृद्धिको लागि नेकपा एमाले नै जरुरी छ भन्ने सन्देश दिएको प्रष्ट पार्नुभयो । एमाले बाहेकका दलमा आस्था राख्ने नागरिकको सहभागिताले पनि यो कुराको पुष्टि गरेको महासचिव पोखरेलको निश्कर्ष छ ।
कार्यक्रममा सम्पर्क समन्वय समितिका इञ्चार्ज लालबाबु पण्डित, संयोजक श्यामकुमार बस्नेत, सचिव इन्द्र भण्डारीलगायतका नेताहरुले पनि एमालेलाई एकल बहुमतको अवस्थामा नपुर्याउदासम्म मुलुकको समृद्धि संभव नहुने निश्कर्ष सुनाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्