जनता टाइम्स

७ पुष २०८०, शनिबार १४:३४

एमाले महासचिवको निश्कर्ष : संकल्प यात्राले ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूलाई ‘ब्रेक’ लगाइदियो


काठमाडौं, पुस ७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राले ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूले अभियानलाई ब्रेक लगाइ दिएको निश्कर्ष सुनाउनु भएको छ ।

काठमाडौंमा आजबाट सुरु भएको एमाले बागमती प्रदेश सम्पर्क कमिटी अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । महासचिव पोखरेलका अनुसार एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले राजावादीले सिर्जना गर्न खोजेको अवाञ्छित माहोललाई ‘ब्रेक’ लगाइ दिएको छ । ‘

हाम्रो समाजमा परिवर्तनप्रति अनास्था र अविश्वास सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनको दिशातिर डोहोर्याउने, राजा आऊ देश बचाऊ भनेर अवाञ्छित प्रकारका गतिविधिहरू गर्ने, अराजकता सिर्जना गर्ने जुन प्रकारको माहोल समाजमा सिर्जना गर्न खोजिएको थियो । हाम्रो पार्टीको २१ दिनको यात्राले त्यो माहोललाई ब्रेक लगाइदियो,’ महासचिव पोखरेलले भन्नुभयो ।

एमालेले मंसिर १४ गते बैतडीको महाकाली नदी किनारस्थित झुलाघाटबाट सुरु गरेको अभियान पाँचथरको नेपाल भारत नाका चिवाभञ्ज्याङमा पुस १ गते पुगेर समापन भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले सुरु गर्नुभएको यात्रामा निरन्तर सहभागी भई चिवाभञ्ज्याङमा समापन गर्नुभएको थियो ।

एमालेका सो यात्राबाट एउटा नयाँ डिस्कोर्स निर्माण गर्ने कुरामा आफूहरूले सफलता प्राप्त गरेको महासचिव पोखरेलले बताउनु भयो । महासचिव पोखरेलले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माण गर्दाका आफूहरूका सोच र सपनाहरू कुन अवस्थामा रहेछन् भनेर यात्राका क्रममा अध्ययन गर्ने मौका पाएको पनि बताउनु भयो ।

‘वास्तवमा हामीले सरकार छोडिसकेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको अवस्था अत्यन्त दयनीय बन्न पुगेको रहेछ। कुनै प्रगति छैन । यतिसम्म कि हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गमा दश वटा नयाँ सहर बनाउने भनेर घोषणा गरेका थियौं । त्यो निर्माण प्रक्रिया पनि रोकिएको रहेछ,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले पहाडलाई समृद्धिको आधार बनाउने हो भने स्वाभाविक रुपमा पहाडमै सबै प्रकारका सुविधाहरू जोड्नुपर्ने पोखरेलले बताउनु भयो । ‘हामी यस्तो पहाडको निर्माण गर्न चाहन्छौं । आज बसाई सरेका मान्छेहरू आफ्नै थातथलोमा फर्किएर समृद्धिको यात्रामा फेरि जोडिउन । यो आधार र मनोविज्ञान हामीले यात्राका माध्यमबाट तय गर्न सफल भएका छौं,’ पोखरेलले थप्नुभयो ।

महासचिव पोखरेलले एमाले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि लागिपरेको पनि बताउनु भयो ।