जनता टाइम्स

७ पुष २०८०, शनिबार २२:२०

पर्यटनमन्त्री एक क्षण तत्क्षण राजीनामा दिनुपर्छ : प्रदीप ज्ञवाली


भक्तपुर, पुस ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय युवा संघ नेपाल संघर्ष र परिवर्तनको पर्यायवाची भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको अन्तरजिल्ला विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शनिबार भक्तपुरमा उदघाटन गर्दै उपमहासचिव ज्ञवालीले संघर्ष राष्ट्रिय युवा संघ नेपालको पहिचान जस्तै भएको बताउनुभयो ।

‘देशको सीमा मिचिँदा होस या लोकतन्त्र खोसिँदा होस, हिंसाका कालो बादलले जनतालाई त्रसित गराउँदा होस् या अन्य कुनै अवस्थामा युवा संघ जहिले पनि देश भक्तिको अग्रिम मोर्चामा उभिने गरेको छ, लोकतन्त्रको रक्षको अग्रिम मोर्चामा उभिने गरेको छ,’ ज्ञवालीले भन्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालले भर्खरै मात्र पनि एउटा भ्रमको तुवाँलोलाई च्यातिदिने काम गरेको उहाँले बताउनुभयो ।जनआन्दोलनबाट फालिएको सामन्ती राजतन्त्रात्मक व्यवस्था फेरी पनि उठाउन सकिन्छ कि भनेर अलिअलि सलबलाएको बेला राष्ट्रिय युवा संघ नेपालले जुरुक्क उठेर एकै दिन मङ्सिर ७ गते प्रतिगमनकारीलाई लाखापाखा लगाइदिएको ज्ञवालीको भनाइ छ ।

जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका पीडितको उद्धार र व्यवस्थापनमा पनि राष्ट्रिय युवा संघ नेपालको भूमिका उल्लेखनीय भएको उहाँले बताउनुभयो । सरकार बेखर भएको बेला राष्ट्रिय युवा संघ नेपालले दुर्गम बस्तीमा कयौँ टहरा बनाएर सहयोग गरेको भन्दै ज्ञवालीले धन्यवाद दिनुभयो ।

२०४८ सालमा नेपाली कांग्रेसको सरकार बनेपछि देश भित्र रोजगारी अन्त्य गरेर म्यानपावर कम्पनी खोली उनीहरूसँगबाट कमिसन खाएर युवालाई विदेश पठाउने काम सरकारकै संलग्नतामा भएको ज्ञवालीले बताउनु भयो ।

२०५२ सालामा माओवादीले सुरु गरेको हिंसात्मक संघर्षमा पढ्दै गरेको बालबालिका र युवालाई कक्षा कोठाबाट निकालेर बन्दुक बोक पछि सबै समस्या समाधान हुन्छ भन्दै युवालाई बन्दुक बोकाउने काम गरिएको उहाँले बताउनुभयो ।

‘जो बन्दुक बोके आज उनीहरू अलपत्र छन्, जो बन्दुक बोक्न मानेनन् उनीहरू पनि आज अलपत्र छन्, प्रचण्ड तेस्रो कार्यकाल प्रधानमन्त्री बनिरहनु भएको छ, उहाँका निम्ति बन्दुक बोका युवाहरू आज रुसी सेनामा भाडका सिपाही बनेर ज्यान हत्केलामा राखेर लडाइँ लड्न बाध्य छन, त्यहाँबाट गुहार मागिरहेका छन–हामीलाई बचाइदेऊ भनेर, यो भन्दा ठुलो विडम्बना अरू के हुन्छ ?’, ज्ञवालीले भन्नुभयो ।

जसको काँधमा टेकेर प्रचण्ड प्रधानमन्त्री बन्नुभयो आज तिनै युवा युक्रेन र रसियामा अवैध बाटोबाट गएर युद्ध लड्न बाध्य भएका उहाँले बताउनुभयो । गाउँका गाउँ रित्याएर अवैध बाटोबाट युवाहरू विदेश गइरहेका उहाँले बताउनुभयो । ‘नेपाली कांग्रेसको २०४८ सालको सरकार र माओवादीले सुरु गरेको हिंसा नेपाली युवाहरूको दुर्गतिका मुख्य कारण हुन भन्ने कुरा हामीले बहुत प्रष्टका साथ बुझ्न जरुरी छ’, उहाँले भन्नुभयो ।

अहिले देश बडो अप्ठेरो स्थितिमा परेको उहाँले बताउनुभयो । देश भित्रको अवस्था र बाह्य सम्बन्ध दुवै राम्रो नभएको उहाँले बताउनुभयो । सत्ता टिकाउनको निम्ति सरकार निश्चित विदेशीको निम्ति कम्फरटेबल भएको उहाँको भनाइ छ ।

सरकारका मन्त्री नै धार्मिक र सामाजिक सद्भाव भड्काउने काममा लागेका भन्दै उहाँले आलोचना गर्नुभयो । नेपाललाई धर्मनिरपेक्ष बनाउने भनेको कुनै पनि धर्मलाई आक्षेप लगाउने पैसाको लोभमा कुनै धर्म विशेषको प्रचार गर्ने भनेको होइन । ‘उनी एक क्षण पनि कुर्सीमा बस्न लायक छैनन्, उनले तत् क्षण राजीनामा दिनुपर्छ’, उहाँले भन्नुभयो ।

अहिले गठबन्धनको नाममा देशको हुर्मत लिने काम भएको उहाँले बताउनुभयो । मन्त्री हटाएर पनि प्रधानमन्त्रीले अब केही गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । खोट मन्त्रीहरूमा होइन प्रधानमन्त्रीमा नै भएको उहाँले टिप्पणी गर्नुभयो ।