चितवन, पुस ९ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्कर जोगाउने अभियानमा लागेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा कार्वाहीको साटो उल्टै तस्करकै संरक्षण गरेको बताउनु भएको हो ।
नारायणगढमा आज सञ्चारकर्मी र युटुवरहरुसँग कुरा गर्दै लामिछानेले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको तर श्रेष्ठले तस्करकै संरक्षण गरेको बताउनु भयो ।
‘मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ । धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईंको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ । झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ भनें,’ लामिछाने भन्नुभयो । त्यसक्रममा लामिछानेले सञ्चारकर्मीलाई प्रमाणसमेत देखाउनु भएको थियो ।
लामिछानेले थप्नुभयो, ‘अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो छारिए । यी सामान छ कि छैन हेर्नुस । केके सामान गएका छन । यो काम कसले गर्यो ? झलकराम सुवेदीले गर्नुभयो । उहाँ गृहमन्त्रीको नजिकको मान्छे । उहाँलाई यो मोड्नुपर्यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो । उहाँले कारबाही गर्नुहोला भनेको त । जोगाउने काम पो गर्नुभयो ।’
लामिछानेले डिजी अधिकारीलाई जोगाउनकै लागि गृहमन्त्रीले मन्त्रालय तानेको नाटक गरेको बताउनु भयो । ‘गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि । उहाँलाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो । उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला,’ लामिछानेले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्