सिन्धुली, पुस १० । लेनदेनको विषयलाई लिएर सिन्धुलीको कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल निकट कांग्रेसका नेता–कार्यकर्ताहरुले महिलालाई पोलमा बाँधेर चरम यातना दिएका हुन ।जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि बेहोस हुने गरी चरम यातना दिइएको हो ।
थापमाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । एसपी थापाका अनुसार बाँधेर राखेकै अवस्थामा उद्दार गरेर ल्याई सेफ होममा राखिएको छ । सो घटनामा थापाका श्रीमानसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा शारदाका श्रीमान शन्तोष थापासहित इश्वर पोखरेल, मिलन देवकोटा, लक्ष्मी पोखरेल, बिष्णुबहादुर ढकाल र एकबहादुर खडका रहेका छन । पक्राउ परेका सवै कमलामाई ४ का वडाध्यक्ष तथा कांग्रेस नेता महेन्द्र ढकाल निकट हुन भने ढकाल आफै कमलामाई नगरप्रमुख एवं कांग्रेस जिल्ला सभापछि उपेन्द्र पोखरेल निकट हुनुहुन्छ । पीडितका अनुसार निर्घाट कुटेर खाली कागजमा हस्ताक्षरसमेत गराइएको छ । पीडित महिला पनि कांग्रेसकै कार्यकर्ता हुन ।
प्रहरीका अनुसार उद्दार गरेर ल्याउँदा थापा बेहोस हुनुहुन्थ्यो भने शरीरमा निलडामहरु थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले दिएको जानकारीअनुसार पीडित थापाका श्रीमान सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिनुभएको थियो ।
पहिले जग्गाको कारोबार गर्ने थापाको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुग्नुभएको थियो । त्यसपछि श्रीमान सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले शशारदालाई बाँधेर कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराउनु भएको थियो ।
त्यसपछि उहाँको मोबाइल समेत अफ भएको थियो । यो घटना मिटरब्याजी रहेको स्थानीय बुद्धिजिविहरुले जनाएका छन । उनीहरुका अनुसार पक्राउ परेकाहरुले शारदालाई सम्बन्ध विच्छेदको मुद्दा फिर्ता गर्न दबाब दिएका थिए । शारदाको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्न यस्तो दवाव दिइएको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्