जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १३:३१

मन्त्रीको गाडीमा आगजनी : गृह प्रशासनको नालायकी !


काठमाडौं, १३ पुस । संघीय राजधानी काठमाडौंमा दिउसै संघीय मन्त्रीले नै असुरक्षित महशुस गर्दा अरुको अवस्था के होला ? अनुमान गर्न कठिन छैन । मध्यदिनमा सडकमा हुलजम्मा भएर तोडफोड गर्दा पनि प्रहरीको उपस्थिति नहुनु उदेकलाग्दो अवस्था हो ।

संघीय मन्त्रीहरू ओहोरदोहोर गरिरहेने ललितपुरको पुल्चोकदेखि सिंहदरबारसम्मको रुट अरुभन्दा संवेदनशिल रुट हो । त्यही रुटमा दिउसै मन्त्रीको गाडीमा केही प्रदर्शकारीले आगो झोस्न सक्छन् भने अन्य ठाउँको के होला ? आम नागरिकको जिउ–धनको शान्ति सुरक्षाको ठेकेदारी लिने गृहमन्त्री हिड्ने रुट पनि त्यही हो ।

अझ आगजनी भइसकेपछि प्रहरी टोली त्यसतर्फ जाँदै गरेको जवाफ ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताउनु र उपत्यका ट्राफिकले ट्राफिक प्रहरी घटनास्थल पुगिनसकेको बताउनुले गृह प्रशासनको नालायकी देखाउन अरू उदाहरण चाहिएला र ?

नैतिकता भएको भए मन्त्रीको गाडी संघीय राजधानीको मुख्य सडकमा आगजनी हुँदा पदमा बसीरहन कुरी कुरी हुनु पर्ने हो । तर, प्रचण्ड सरकारको न नैतिकता छ न त जिम्मेवारी बोध । अब उहाँहरूले प्रदर्शनकारीलाई दोष देखाएर उम्कनु हुनेछ पक्का हो । लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक भए पनि तोडफोड गर्ने सरकारी वा व्यक्तिको सम्पती तोडफोड गर्नु अपराध हो ।

आगजनी गर्ने प्रदर्शनकारी अपराधि हुन् नै तर, शान्ति सुरक्षाको जिम्मेवारी लिएको सरकार आफ्नै मन्त्रीको गाडी राजधानीकै सडकमा आगजनी हुँदा थाहा नपाउनु महानालायकिपन हो ।