जनता टाइम्स

१५ पुष २०८०, आईतवार १७:५८

बालकुमारी हत्याकाण्डले सत्ता गठबन्धनमा दरार, प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बैठकमै चर्काचर्की


काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चर्काचर्की परेको छ ।

दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको बिषयमा छलफल गर्न बालुवाटारमा आज बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री दाहाल र देउवाबीच चर्काचर्की परेको हो । बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री दाहालले गृहमन्त्रीलाई जोगाएर प्रहरीमाथि निसाना साँधेको भन्दै देउवाले आपत्ति जनाउँदा प्रधानमन्त्रीले प्रतिवाद गरेपछि चर्काचर्की परेको हो ।

बैठकमा देउवाले मन्त्री जोगाएर प्रहरी अधिकारी निलम्बन गर्ने काम अनुचित रहेको भन्दै प्रहरीको मनोबल खस्कने गरी कारबाही गर्न नहुने अडान लिनुभएको थियो । तर प्रधानमन्त्री दाहालले प्रहरीमाथिक कार्वाही उचित रहेको भन्दै प्रतिवाद गर्दा अवस्था असामान्य बनेको हो ।

बालकुमारीमा गम्भीर सुरक्षा लापरवाही भएको र त्यहाँको कमाण्डको जिम्मेवारीमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्सालसहितका प्रहरी अधिकारीहरुलाई कारवाही गर्न लागेको जानकारी बैठकमा प्रधानमन्त्रीले दिँदा देउवाले आपत्ति जनाउनु भएको थियो । देउवाले प्रहरीलाई कारवाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री दाहाल झोक्किएपछि केहीबेर बैठक असामान्यजस्तै बनेको ती नेताले बताए ।

‘देउवाको कुरा आदेश दिने जोगाएर पुलिस फसाउने भन्ने थियो, प्रधानमन्त्रीले ठूलो स्वर गरेपछि देउवा झोक्किएर बैठक नै छाडेर हिडे,’ बैठकमा सहभागी ती नेताले जनताटाइम्ससँग भने । गृहमन्त्री निर्दोष रहेको तर प्रहरी दोषी रहेको भन्दै प्रधानमन्त्री दाहालले सरकारको काममा हस्तक्षेप नगर्न भन्दै कारवाही रोक्ने भए सरकार आफैँ चलाउन देउवालाई चेतावनी दिनुभएको समेत ती नेताको भनाई छ ।

प्रधानमन्त्रीले त्यसो भनिरहँदा देउवा पनि चर्किएपछि परिस्थिति असहज बनेको थियो । प्रधानमन्त्री र देउवाबीच लफडा नै परेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस नेता रमेश लेखकले बैठकबाट देउवालाई अर्को कोठामा लैजानु भएको थियो ।