जनता टाइम्स

१७ पुष २०८०, मंगलवार १५:५६

रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यू, ज्यान गुमाउनेको संख्या १० पुग्यो


काठमाडौं, पुस १७ । रुसी सेनामा भर्ती हुन गएका थप ३ जना नेपालीको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा उनीहरुको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयमा प्राप्त सूचनाअनुसार पछिल्लो पटक युद्धमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरीको मृत्यू भएको छ ।

योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन ।

रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ । मंसिर १८ गते मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसाररुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन प्राप्त भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि नै यो सूचना सार्वजनिक गर्नुभएको थियो ।