काठमाडौं, पुस १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गर्नुभएको छ ।
करार कर्मचारीको विषयलाई लिएर मेयर शाहले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गर्नुभएको हो । मेयर शाहले आफ्नो सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गर्नुभएको हो ।
वरिष्ठ शाखा अधिकृत बिडारी यसअघि मेयरको सचिवालयमा कार्यरत रहनुभएको थियो । उक्त घटना बाहिरिएपछि बिडारीलाई निलम्बन गर्नुअघि सचिवालयबाट सम्पदा तथा पर्यटन विभागमा सरुवा गरिएको थियो । नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि तीन कर्मचारीलाई मेयर शाहले निलम्बन गरेको मेयरका सचिवालय स्रोतले जनताटाइम्सडटकमलाई बतायो । स्रोतका अनुसार कार्यपालिकाको निर्णयमाथि नै थपघट गर्ने काम गरेपछि मेयर आक्रामक बन्नुभएको हो ।
वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको पाइएाके छ । उक्त घटनामा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी बिदामा बस्नुभएको छ । महानगरको २३ औं नगरसभाको १५ औं एजेण्डामा करारको स्वास्थ्य कर्मचारीहरुको सेवा अवधि थप गर्ने निर्णय थियो ।

नगरसभाले ५ जना कर्मचारीको करार अवधि थप गर्ने निर्णय गरेको भएपनि उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको पाइएपछि कार्वाही गरिएको हो । शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन बैठकको निर्णय नै २ पटक परिवर्तन गरिएको पाइएपछि मेयर शाह एक्सनमा उत्रिनुभएको स्रोतले बतायो ।
बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न निलम्बन गरिएको हो । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख कार्यकारी अधिकृतले गर्ने परम्परा छ । यस्तै मेयर शाहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिनुभएको छ ।
अधिकारी हिजैदेखि बिदामा बसेकाले हिजोको नियमित नगर कार्यपालिका बैठकमा कोइराला सहभागी हुनुभएको थियो । केही दिनअघि सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापालाई पनि निलम्बन गरिएको छ । निर्माणसम्बन्धी काममा प्रश्न उठेपछि थापालाई निलम्बन गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्