जनता टाइम्स

१९ पुष २०८०, बिहीबार ०३:३५

सेनाको जागिर छाडेर रुसी सेनामा भर्ना हुन गएका थिए स्याङ्जाका हरि, दुई महिनामै गयो ज्यान


स्याङ्जा, पुस १९ । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्याल दुई महिनाअिघ मात्रै रुसी सेनामा भर्ती भएको पाइएको छ । अर्यालको निधन भएको खबर उनका बुबाआमाले बुधबार मात्रै पाएका छन ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अर्यालको निधनबारे मंगलबार नै वालिङ नगरपालिका–१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) लाई आधिकारिक जानकारी गराएको थियो । अर्यालका आफन्तको आग्रहमा उहाँको परिवारलाई बुधबार जानकारी दिइएको छ ।

अर्यालको निधनको खबरपछि टोल, छिमेक र आफन्त मान्खुस्थित घरमा जम्मा भएका छन । आफन्त बद्री अर्यालका अनुसार कन्सुलर विभागले शव आउने/नआउने एकिन गर्न अझैं सयम लाग्ने बताएको छ ।अर्याल नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा भर्ती हुन गएका थिए ।

१८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका अर्यालले साढे दुई वर्षपछि राजीनामा दिइ ओमन प्रहरीमा जान आवेदन दिएका थिए । सेनाबाट राजीनामा दिएर आवेदन दिए पनि उनी सफल भएनन । त्यसपछि दक्षिण अफ्रिका जाने प्रयासमा समेत असफल भएपछि निराश अर्यालले रुसी सेनामा भर्ना हुने बाटो रोजेका थिए ।

परिवारका सदस्यका अनुसार हरि नेपालबाट दुबई गएका थिए । दुबईबाटै कात्तिक ३ मा रुस पुगे । रुस पुगेको ५ दिनमा अर्थात कात्तिक ८ गते उनी रुसी सेनामा भर्ती भएका थिए । पछिल्लोपटक मंसिर १८ (डिसेम्बर ४) मा फेसबुकमा एक भिडियो पोस्ट गर्दै अर्यालले ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै’ लेखेका थिए ।

मंसिर १९ सम्म उनी परिवारको सम्पर्कमा थिए । भाउजुको म्यासेन्जरबाट बुबाआमासँग कुरा गर्थे । त्यसपछि भने उनी सम्पर्कविहीन भए । सम्पर्कबिहीन भएपछि उनको निधन भएको गाइँगुइँ चलेको थियो । भिजिट भिसामा एजेन्टको माध्यमबाट दुबई हुँदै रुस गएर सिधैं भर्ती हुने र कमाइ समेत राम्रो हुने सुने पछि अर्याल त्यता जान लालायित भएका परिवारका सदस्यहरुको भनाई छ ।

पछिल्लो समय रुसी सेनामा भर्ना भएका तीन जनाको मृत्यू भएको जानकारी परराष्ट्र मन्त्रालयमा आएको थियो । अर्यालसँगै मारिएका तीन जनासँगै रुसी सेनामा मारिने नेपालीको संख्या १० पुगेको छ । यस्तै करिव एक सय जना बेपत्ता रहेको जानकारी आएको बताइएको छ ।