जनता टाइम्स

२१ पुष २०८०, शनिबार १६:४३

गठबन्धन सरकारले राष्ट्रिय स्वाधीनतामा आँच आउने काम गर्यो : ईश्वर पोखरेल


काठमाडौं, पुस २० । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको राष्ट्रिय राजनीति सहज नभएको बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ३६औं बार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका संकट झेल्न बाध्य बनेको बताउनु भएको हो ।

‘यसलाई चिर्न राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनु पर्ने आवश्यकता छ, राष्ट्रिय शक्ति एकताबद्ध भएर मात्रै भू–राजनीतिक संवेदनशीलताबाट सृजित समस्यासँग हामी जुध्न सक्छौँ, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र अखण्डताको रक्षा गर्न सक्छौँ’, पोखरेलले भन्नुभयो ।

सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता रहेको पनि भन्दै उहाँले त्यसको नेतृत्व एमालेले गरिरहेको बताउनु भयो । अहिले एकातिर नेकपा एमाले र अर्कोतिर गठबन्धनकारी शक्ति एक ठाउँमा पोको परेर बसेको पोखरेलले बताउनुभयो । एमाले आर्थिक समृद्धि र विकासको पक्षमा रहेको र गठबन्धन त्यसलाई भताभुङ्ग पार्ने पक्षमा रहेको पोखरेलको भनाइ छ ।

नेकपा एमाले राष्ट्रिय स्वाभिमान र विकासको स्पष्ट दृष्टिकोणको साथ अघि बढेको पनि उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई सत्ता गठबन्धनले धुमिल बनाउने काम गरेको भन्दै उहाँले कडा आलोचना गर्नुभयो । प्रमुख प्रतिपक्षी दलसँग कुनै सल्लाह नगरी भारतका विदेशमन्त्री नेपाल आउँदा सरकारले गोप्य सम्झौता गरेको उहाँको भनाइ छ । सम्झौताका नाममा राष्ट्रिय स्वाधीनतामा आँच आउने काम सरकारले गरेको पोखरेलले बताउनुभयो । ‘यसलाई नेकपा एमालेले अत्यन्त गम्भीर रूपमा लिएको छ’, उहाँले भन्नुभयो ।

नेपालको अतिक्रमित भूमिलाई नेपालले फिर्ता लिनुपर्छ भनेर एमालले संविधान संशोधन गरेको भए पनि आज ती विषयलाई धुमिल बनाइँदै गएको उहाँले टिप्पणी गर्नुभयो । गठबन्धनले त्यसको मर्मविपरीत काम गरिरहेको उहाँले बताउनुभयो ।

सामाजिक सद्भाव विकास गर्नुपर्छ भन्ने एमालेको मान्यतामा आँच पुर्याउने काम गठबन्धनको तर्फबाट भएको पोखरेलले बताउनुभयो । सामाजिक सद्भाव कायम राख्ने कुरा आजको राष्ट्रिय आवश्यकता रहेको उहाँले रुपष्ट पार्नुभयो । गठबन्धन त्यसप्रति अनुत्तरदायी मात्र होइन सामाजिक सद्भाव भड्काउन उद्धत रहेको पोखरेलको भनाइ छ ।

एमालेले सुरु गरेको देश बनाउने सपनालाई आज मुर्छित बनाउने काम भएको उहाँले बताउनुभयो । त्यसैले यी सबै कुराको विरुद्ध राष्ट्रवादी शक्ति एकजुट हुन आवश्यक रहेको पोखरेलको भनाइ छ ।