जनता टाइम्स

२१ पुष २०८०, शनिबार १८:०७

प्रथम राष्ट्रपति यादवको निश्कर्ष : प्रचण्ड सरकारले राम्रो काम गर्दै गरेन


काठमाडौं, पुस २१ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मुलुक र जनताको हितमा राम्रो काम नगरेको निश्कर्ष सुनाउनु भएको छ ।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिसमेत रहनुभएका यादवले सरकारले राम्रो काम गर्नेभन्दा उटपट्याङतिर ध्यान दिएको निश्कर्ष सुनाउनु भएको हो ।

प्रथम राष्ट्रपति यादवले सरकार र प्रमुख पार्टीहरुले राम्रो काम नगरे पनि कोर्स करेक्सन हुने आशा गर्नुपर्ने बताउनु भयो । प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो, गर्न सकिरहेका छैनन । तर हामी एउटा बाटोमा छौं । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ ।

उहाँले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले मुलुकका लागि अव निकै मेहनतपुर्वक काम गर्न जरुरी रहेको बताउनु भयो ।

‘हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौं,’ पूर्वराष्ट्रपति यादवको भनाई थियो ।