जनता टाइम्स

२२ पुष २०८०, आईतवार १७:५३

टुटलका संस्थापक भट्टलाई रिहा गर्न आदेश


काठमाडौं, पुस २२ । काठमाडौं जिल्ला अदालतले राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ।

टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले बिहीबार पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौंकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलाशले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्नुनपर्ने ठहरसहित रिहा गर्न आदेश दिएको हो।

‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादीविरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०-१-००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०/०६/२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भइसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नू भनी प्रस्तुत आदेश गरिदिएको छ’, आदेशमा भनिएको छ ।

टुटल स्थापना गर्दा साझेदारबीच लगानी र ट्रेडमार्कबारे भएको सम्झौतलाई लिएर असमझदारी भएपछि भट्टविरुद्ध उजुरी हालिएको थियो। साझेदारहरूको विवादबीच पनि शिक्षित भट्टले टुटललाई अघि बढाउनु भएको थियो । विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो। तर भट्टले फेरि केही महिना अघिदेखि टुटललाई सञ्चालनमा ल्याउनु भएको थियो ।

यहीबीचमा टुटल छाडिसकेका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए। त्यो उजुरी पनि काठमाडौं प्रहरी परिसरमा आइपुगेको थियो। प्रहरीले पक्राउ परेका भट्टलाई आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न अदालतमा पेश गरेको थियो। तर अदालतले भट्टलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।