काठमाडौं, पुस २३ । नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ । गुटको किचलोका कारण सत्तागठबन्धनको ठूलो दल कांग्रेसलाई उम्मेदवार छान्न सकस भएको थियो।
बिवादका कारणपार्टी पदाधिकारीहरू राति २ बजेसम्म सानेपास्थित कार्यालयमा छलफलमै थिए । राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । कांग्रेसले कोसी प्रदेशबाट कृष्णप्रसाद सिटौलाई, मधेशबाट आनन्दप्रसाद ढुंगाना, बागमतीबाट जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, गण्डकीबाट किरणबहादुर श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनीबाट विष्णुकुमारी सापकोटा, कर्णालीबाट कृष्णबहादुर रोकाया र सुदुरपश्चिमबाट बलदेव बोहोरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो ।
गठबन्धनबाट कांग्रेसको भागमा १० सिट परेको छ । तर, आइतबार दिनभरजसो आन्तरिक छलफल भए पनि संस्थापन र इतर समूहबीच भागबन्डा मिल्न सकेको थिएन । सोमबार बिहानपख सहमति जुटेपछि उम्मेदवारको टुंगो लागेको हो ।














प्रतिक्रिया दिनुहोस्