जनता टाइम्स

२३ पुष २०८०, सोमबार १०:३४

पृथ्वीसुब्बा गुरुङको निष्कर्ष : प्रतिगामी शक्तिले संघीयताको विरोध गरिरहेका छन


लमजुङ, पुस २३ । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनतालाई अधिकार दिन नचाहनेहरूले संघीयताको विरोध गरिरहेका बताउनुभएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीको पामचोकस्थित सरस्वती आधारभूत विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै गुरुङ अहिले केही मानिसहरू संघीयताको विरोधमा लागेका भन्दै आलोचना गर्नुभयो ।

‘जनता अधिकार सम्पन्न भएको देख्न नचाहने प्रतिगामी शक्तिहरू, अहंकारी शक्तिहरू, जनतालाई कमजोर बनाएर आफ्नो हैकम चलाउन चाहने शक्तिहरूले आज संघीयता चाहिँदैन भनिरहेका छन्’, उहाँले भन्नुभयो ।

संघीय शासन प्रणाली जनताको लागि सबैभन्दा राम्रो शासन व्यवस्था भएको उहाँले दाबी गर्नुभयो । संसारको भूगोलको ४५ प्रतिशत भूगोलमा आज संघीय शासन प्रणाली रहेको उहाँले बताउनुभयो । सबैभन्दा विकसित र सम्पन्न मुलुकमा संघीय शासन प्रणाली रहेको उहाँले प्रष्ट पार्नुभयो ।

नेपालमा केही वर्षमा आर्थिक, सामाजिक क्षेत्रमा अभूतपूर्व विकास उहाँले भएको बताउनुभएको छ । यो सबै संघीयता र गणतन्त्रको देन भएको गुरुङले प्रष्ट पार्नुभयो । हिजो कल्पना भन्दा बाहिरको कुरा आज व्यवहारमा देखिरहेको गुरुङले बताउनुभयो । ‘यति ठुलो परिवर्तन भएको छ, नेपालमा अभूतपूर्व विकास भएको छ’, गुरुङले भन्नुभयो ।

अहिले जनताका छोरा छोरी राष्ट्रपति बन्न सफल भएको बताउँदै गुरुङ यो अधिकार अहिलेको व्यवस्थाले दिएको बताउनुभयो । अहिले पनि केही व्यक्तिहरू २ सय ५० वर्षसम्म देशलाई अन्धकारमा राख्ने राजालाई राजा आऊ देश बचाउ भनेर हिँडेका भन्दै गुरुङले आलोचना गर्नुभयो ।

‘आफ्नै वंशलाई बचाउन नसक्ने राजतन्त्रले कसरी देश बचाउन सक्छ, अब राजा आऊ भनेको टर्च लाइट र बिजुलीको सट्टामा आगोको अगुल्टो ल्याऊ भने जस्तै हो, अब राजा आऊ भनेको ल्यापटपको सट्टामा खरी पाटी ल्याऊ भने जस्तै हो’, गुरुङले भन्नुभयो ।

नेपालको संविधानले दिएको जत्तिको समानताको अधिकार विश्वका विकसित र ठुला प्रजातान्त्रिक भनिएका मुलुकमा पनि नभएको उहाँले बताउनुभयो । ३३ प्रतिशत महिला सहभागिताको कुरा भारत, अमेरिका, युरोपमा समेत नभएको उहाँले प्रष्ट पार्नुभयो । नेपालको लोकतन्त्र युरोप, अमेरिकाको भन्दा पनि एड्भान्स भएको उहाँले दाबी गर्नुभयो ।

पार्टीहरूले बेइमान गरेको कारण त्यसको व्यवहारिक प्रयोगमा केही समस्या भएको बताउँदै गुरुङले त्यसमा भने केही सुधार गर्न आवश्यक रहेको बताउनुभयो । राजनीतिक दलहरूको बेइमानीको कारण राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुन नसकेको भन्दै गुरुङले आलोचना गर्नुभयो ।

जनताका प्रतिनिधिले मात्र जनताको अप्ठेरो र समस्या बुझ्ने उहाँले बताउनुभयो । सरकार जनता प्रति जति नजिक भयो नागरिकका समस्या त्यति बुझ्ने उहाँले स्पष्ट पार्नुभयो । जनताका नजिकका जनप्रतिनिधिको जनताले पनि सजिलै निगरानी गर्ने भएकोले उनीहरू जनताप्रति उत्तरदायी हुने गुरुङले बताउनुभयो ।