काठमाडौं, पुस २५ । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ ।
काठमाडौँको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको हो ।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार मंगलबार साँझ बम्जन पक्राउ गरिसकेपछि बूढानीलकण्ठस्थित उनको घर खानतलासी गर्दा सो परिमाणको रकम फेला परेको हो ।
हत्यासहितको अभियोगमा अनुसन्धानमा तानिएका ‘तपस्वी’ बम्जनलाई सीआईबीको टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो । लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो । बम्जन काठमाडौं आसपासमै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो । भाग्न सक्ने सम्भावना बलियो भएपछि प्रहरीले निरन्तर निगरानी गरेर मंगलबार साँझ पक्राउ गर्न सफल भएको हो ।
सीआईबी प्रमुख बज्राचार्यका अनुसार आफूलाई पक्राउ गर्न प्रहरी पछि लागेको शंका पाएका उनी भाग्ने गरी तम्तयार अवस्थामा बसेका थिए । भाग्ने तयारी अवस्थामा रहेका उनी हात्तीगौंडास्थित घरमा विगत ८ दिनदेखि बाहिर कतै ननिस्की बसेका थिए । मंगलबार साँझ प्रहरी टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो । तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए ।
बम्जनमाथि बलात्कारसहित एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। रौतहटकी आनीले आश्रममा बस्दा बम्जनले आफूलाई जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन । पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बम्जन प्रहरीको फरार सूचीमा थिए । सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बम्जनलाई प्रहरीले फेला पार्न सकेको थिएन।
सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका बम्जन करिब १८ वर्षअघि बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए । उनीबिरुद्ध अन्य दर्जनौं अपराध गरेको उजुरीसमेत प्रहरीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्